Hamro Patra
पाँच वर्षसम्म सरकार चल्छ : मुख्यमन्त्री शाह

टीकापुर, फागुन ८

मुख्यमन्त्री कमलबहादुर शाहले यो सरकार पाँच वर्षसम्म चल्ने बताएका छन् । उनले चुनावमा गए जनताले नै लखेट्ने अवस्था रहेकाले मध्यावधि हुने सम्भावना नरहेको बताएका हुन् ।

सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सरकारको स्थायित्वका लागि सबै राजनीतिक दलहरूसँग सकारात्मक संवाद भइरहेको बताए । ’मध्यावधिमा जाने अवस्था छैन, प्रदेश सरकारले पाँच वर्ष पूरा गर्छ, माननीयले पनि चुनावमा जाने कुरा सोचेका छैनन् भने जनताले चुनावमा गए लखेट्ने छन् ।’

प्रजातन्त्र दिवसको अवसरमा सञ्चारकर्मीहरूबाट सुझाव लिन पत्रकार सम्मेलन गरेको बताउँदै मुख्यमन्त्री शाहले निरन्तर सञ्चारकर्मीहरूबाट प्रदेशको वस्तुस्थिति बारे जानकारी लिने बताएका छन् । मिडिया क्षेत्रबाट मार्गदर्शन प्राप्त हुने विश्वास रहेको बताउँदै मुख्यमन्त्री शाहले विभिन्न क्षेत्रका सूचना पत्रकारहरूसँग हुने भएकाले तिनलाई ग्रहण गरेर सरकारको काम प्रभावकारी बनाउ क्रियाशील हुने बताए ।

लगानी भित्र्याउन सबै सुविधा दिने ।

प्रदेशमा लगानी भित्र्याउन लगानीकर्तालाई सबै सुविधा उपलब्ध गराउने मुख्यमन्त्री शाहले बताएका छन् । प्रदेशमा रोजगारी सिर्जना गर्न निजी क्षेत्रको लगानी भित्र्याउनु पर्ने भएकाले लगानीकर्ताले प्रस्ताव गरेको सेवा सुविधा उपलब्ध गराउन सरकार तयार रहेको बताएका छन् ।

’रोजगारी सिर्जना नभएसम्म विदेश जान रोक्न सकिन्न,’ उनले भने, ’लगानी भित्र्याउन प्रदेश सरकारले लगानीकर्तालाई चाहिएको सेवा सुविधा दिन्छौँ।’ लगानी भित्र्याएर रोजगारी बढाउने प्रदेश सरकारको लक्ष्य रहेको मुख्यमन्त्री शाहले बताएका छन् ।

विश्वासको मतका लागि के भइरहेको छ भन्ने पत्रकारहरूको जिज्ञासामा मुख्यमन्त्री शाहले सबै दलसँग सकारात्मक संवाद भइरहेको बताएका छन् । पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर शाह, र आर्थिक मामिला मन्त्री नरेन्द्रबहादुर शाहीको पनि उपस्थिति थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update