Hamro Patra
नक्कली नोटसहित दुई जना पक्राउ

टीकापुर, फागुन ८

कैलालीको टीकापुरमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले एक हजार रुपैयाँको १७ नोटसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नं. २ विजयनगर शिविरका २३ वर्षीय तपेन्द्रबहादुर शाही र ३६ वर्षीय हरिप्रसाद चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरज खड्काले दिएको जानकारी अनुसार टीकापुरको शिवमन्दिर अगाडि रहेको ठेला पसलमा सामान खरिद गरी एक हजारको नक्कली नोट दिइरहेको अवस्थामा शाही पक्राउ परेका हुन् ।

‘शाहीलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा विजयनगरमा रहेको एच.पी. डिजिटल फोटो स्टुडियोबाट रंगीन प्रिन्ट गरी चलाएको देखियो’ निरीक्षक खड्काले भने ‘उक्त स्टुडियोका सञ्चालक रहेका चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले शाहीबाट १७ वटा एक हजार रुपैयाँका नक्कली नोट बरामद गरेको हो । पक्राउ परेका शाही र चौधरीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धि कसुरमा नक्कली नोट (खोटा मुद्रा) अन्तर्गत मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update