टीकापुर, फागुन ११
टीकापुर नगरपालिका वडा नं. १ स्थित टीकापुर सामुदायिक पुस्ताकालयले माघ महिनाको उत्कृष्ठ पाठकका रुपमा मनिषा रावललाई पुरस्कृत गरेको छ ।
वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा अध्इयनरत छात्रा रावललाई माघ महिनाको उत्कृष्ठ पाठकका रुपमा नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।
विद्यार्थीहरुमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले टीकापुर सरोकार समूहको समन्वयमा पुस्तकालयले मंसिर महिनादेखि हरेक महिनाका उत्कृष्ठ पाठकलाई पुरस्कार दिँदै आएको छ ।
पुरस्कृत रावलले पुस्तकालयले आफूलाई शान्त वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गरेको बताउँदै प्राप्त पुरस्कारले लोकसेवाको तयारी गर्न मद्दत पुग्ने बताइन् ।
‘आफूले पढेर ज्ञान पनि पाइने अनि पुरस्कृत पनि हुँदा खुशी लागेको छ’ रावलले भनिन् ‘घरमा अध्ययन गर्ने वातावरण नभएका कारण म हरेक दिनजसो पुस्कालयमा आएर लोकसेवाको तयारी गरिरहेको छु ।’
उत्कृष्ठ पाठक रावललाई टीकापुर सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष धनञ्जय तिमिल्सेना र टीकापुर सरोकार समूहका कोषाध्यक्ष परमानन्द पाण्डेले पुरस्कार प्रदान गरेका हुन् ।
टीकापुर सरोकार समुहको तर्फबाट माघ महिनाको पुरस्कारको सौजन्य दुबईमा कार्यरत समूहका सदस्य तर्क कुवर र शेरबहादुर कँुवरले आफ्ना स्वर्गीय पिता गगन सिंह कुँवरको स्मृतिमा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पूर्व अध्यक्ष तिमिल्सेनाले उत्कृष्ठ पुरस्कार दिने कार्यक्रमले विद्यार्थीहरुमा पढ्नु पर्छ भन्ने भावना विकास हुने बताए ।
‘यसले विद्यार्थीहरुलाई पुस्तकालयसम्म आउनका लागि प्रेरणा दिन्छ’ तिमिल्सेनाले भने ‘यो संस्कार हरेक घर परिवारले आफ्ना बालबालिकालाई सिकाउन जरुरी छ, पुस्तकालयमा थुप्रै पुस्तकहरु छन्, यहाँबाट अनेक ज्ञान प्राप्त हुन्छ ।’
टीकापुर सरोकार समूहका कोषाध्यक्ष परमानन्द पाण्डेले पुस्तकालयमा आएर पढ्ने विद्यार्थीहरुको संख्या बढाउन पुस्तकालयले प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताए ।
‘यो कार्यक्रमको बारेमा थुप्रै विद्यार्थीहरुलाई जानकारी दिन यसको प्रचार प्रसार गर्नु आवश्यक छ’ कोषाध्यक्ष पाण्डेले भने ‘उत्कृष्ठ पुरस्कार दिने कार्यक्रमलाई निरन्तरता दिनका लागि पनि पढ्नेहरुको संख्या बढ्नु पर्छ, त्यसका लागि हामी सबैले आफ्नो ठाउँबाट सहयोग गरौं ।’
पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष उदयराम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सामुदायिक पुस्तकालयका सचिव देबेन्द्र शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत धर्मचन्द्र शर्माले गरेका थिए ।




