Hamro Patra
तौलाहा तालको सौन्दर्यीकरण

टीकापुर, फागुन १६

धनगढी उपमहानगरपालिका वडा नं. ८ स्थित धनगढी गाउँको प्राकृतिक तौलाहा ताल व्यवस्थापन गरिएको छ । सो ताल बेवारिस अवस्थामा रहेको थियो । वडा नं. ८ का अध्यक्ष जुगराम चौधरीका अनुसार पर्यटन प्रवद्र्धनको उद्देश्यसहित प्राकृतिक तालको व्यवस्थापन गरिएको हो । यो ताल अब पर्यटकीय गन्तव्य बन्ने अपेक्षा पालिकाको छ । सो व्यवस्थित तालबाट सङ्कलन हुने राजस्वको केही प्रतिशत वडा कार्यालयले पाउने छ ।

उनका अनुसार तौलाहा ताल करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको छ तर पानीले ओगटेको क्षेत्र भने कम छ । ताललाई व्यवस्थित गरेर वाटर पार्कजस्तै बनाइएको छ । पानीबाहेकको भागमा टायल बिच्छ्याउनुका साथै किनारमा चारैतिर दुबो राखिने बताइन्छ । बोरिङ जडान गर्ने कार्य भइरहेको बताइन्छ । ताल क्षेत्रलाई उज्यालो बनाउन पाँचवटा पोलमा सेन्सरयुक्त बत्ती राखिँदै गरेको वडाध्यक्ष चौधरीले बताए । पर्यटकीय स्थल बनाउने उद्देश्यसाथ क्षेत्रीय सहरी विकास आयोजना र धनगढी उपमहानगरपालिकाको लगानीमा ताल व्यवस्थापन गर्ने कार्य भइरहेको हो । यसको लागत भ्याटसहित दुई करोड ३४ लाख रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ठेक्का भएको थियो । सो ताल व्यवस्थापनको कार्य धनगढीकै रोयल पवन जेभीले ठेक्का पाएर काम गरिरहेको छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रबन्ध निर्देशक महेश महराले बताए । उनका अनुसार विस्तृत परियोजना प्रतिवेदनअनुसार ताललाई सौन्दर्यीकरण गर्न सकिएको छैन । बजेट कम भएकाले कतिपय संरचना बनाइएको छैन । चैतदेखि कम्पनीले भुक्तानीसमेत नपाएको गुनासो उनको छ ।

ताल व्यवस्थापनका लागि दुई वर्षको समयावधि रहेको थियो तर कोरोना र विवादका कारण केही समय काम रोकिएको थियो । प्राकृतिक ताल मासेर सिमेन्टको संरचना बनाउन नदिने भन्दै धनगढी गाउँका रानाथारू समुदायले विरोध जनाएपछि एक वर्षसम्म काम ठप्प भएको महराले बताए । उनका अनुसार विवाद मिलेपछि पुनः काम अघि बढ्यो । अहिले समस्या छैन । आदिवासी जनजाति रानाथारू समुदायले पहिलेदेखि तौलाहा तालबाट माटो निकालेर घर लिपपोतको काम गर्दै आएका थिए । उनीहरूले कुलदेवता (भुइँया पुज्न)का लागि माटोले लिपपोत गर्दछन् । लिपपोतबिना चोखो नमान्ने चलन छ ।

प्राकृतिक ताल मासेर आधुनिक संरचना निर्माण गरेमा कुलदेवता पुज्नका लागि आफूहरूले माटो नपाउने तर्क रानाथारू समुदायको थियो तर धनगढी उपमहानगरपालिकाले सार्वजनिक जग्गा, तालतलैया नगरपालिकाको मातहतमा रहने र व्यक्ति वा समुदायले प्रयोग गर्न नपाउने निणर्य गरेपछि निर्माणको काम अघि बढेको वडाध्यक्ष चौधरीले बताए । उनले भने, ‘अहिले विवाद वा विमति कसैको पनि छैन । ताल व्यवस्थित भएमा यहीँका बासिन्दालाई पनि फाइदा हुनेछ ।’

व्यवस्थापनसहित सौन्दर्यीकरण गरिएको ताललाई पर्यटन गतिविधि सञ्चालन गर्न ठेक्कामार्फत निजी क्षेत्रलाई दिने योजना धनगढी उपमहानगरपालिकाको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update