Hamro Patra
डीएसपी भाटले २२ दिनमा चलाए १७ मुद्दा

टीकापुर, १७ फागुन

इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा आएका डीएसपी उद्धवसिंह भाटले कार्यालयमा हाजिर भएको २२ दिनमै १७ वटा मुद्दा दर्ता गरेका छन् ।

माघ २५ गते कार्यालयमा हाजिर भएका डिएसपी भाटले आएको २२ दिनमै लागुऔषधका १०, सार्वजनिक हित समेत विरुद्ध ३, बैंकिङ्क कसुर १, मुद्रा सम्बन्धी कसुर १, सवारी ज्यान १ र चोरी सम्बन्धी कसुर १ गरी १७ वटा मुद्दा दर्ता गरेका छन् । ती घटनामा संलग्नता देखिएको १९ जनालाई पक्राउ गरिएको छ ।

लामो समयदेखि लागुऔषधको बिगबिगी बढिरहेको चर्चा चलिरहँदा डिएसपी भाटले कमाण्ड समालेको २२ दिनमै ३८ ग्राम १३० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेका छन् । सम्भवतः उक्त परिमाण इलाका प्रहरी कार्यालय, टीकापुरले पक्राउ गरेको हालसम्मकै उच्च परिमाण हो ।

टीकापुर क्षेत्रमा मुख्य रुपमा गुण्डागर्दी र लागुऔषध दुव्र्यसन मुख्य समस्या रहेको बताउँदै डिएसपी भाटले आफ्नो पहिलो प्राथमिकता गुण्डागर्दी र लागुऔषध कारोवार नियन्त्रण रहेको बताए । टीकापुर क्षेत्रका सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा डिएसपी भाटले सो कुरा बताएका हुन् ।

‘थोरै दिन भो यहाँ आएको, मेरो बुझाईमा यहाँ गुण्डागर्दी र त्योसँग जोडिएको लागुऔषध मुख्य समस्याका रुपमा रहेको छ’ डिएसपी भाटले भने ‘कानुनले दिएको अधिकार, प्रहरीको कर्तव्यलाई ध्यानमा राखेर यी गतिविधि नियन्त्रणमा मेरो पहिलो प्राथमिकता हुनेछ ।’

डिएसपी भाटले २ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतको जिम्मा लगाइएको समेत जानकारी दिए । डीएसपी भाटले यस अवधिमा रातिको समयमा शङ्कास्पद गतिविधिमा संलग्न व्यवहार देखाउने विभिन्न १ शय ७४ जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाइ छाडिएको जानकारी दिए ।

भूपेन्द्र बडुवाल हत्या काण्डलाई आफुले सूक्ष्म ढङ्गले अध्ययन गरिरहेको बताउँदै डीएसपी भाटले यसक्षेत्रको आपराधिक गतिविधि नियन्त्रणका लागि सहयोग गर्न अनुरोध गरेका छन् ।

भेटघाटका क्रममा डिएसपी भाटले यस क्षेत्रमा भइरहेको नदीजन्य पदार्थको अवैध उत्खनन्मा संलग्नतालाई नियन्त्रणमा लिइ कानुनी दायरामा ल्याउने बताए ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update