Hamro Patra
पृथ्वी शाहको समूहविरुद्ध चार वटा मुद्दा

टीकापुर, फागुन १७

ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सुझाव दिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सिआईबीले शाह, उनका भाइ विजयविक्रम शाहसहितका व्यक्तिविरुद्ध ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो ।

अमेरिकी नागरिक ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका सात जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो ।

अनुसन्धानमा उनीहरूले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

घटनामा संलग्न पृथ्वीसहित सात जना पक्राउ परेका छन् भने अन्य १३ जना फरार रहेका छन् । घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिनलाई सात वर्ष कैद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको प्रवक्ता थापाले बताए । उनले उनीहरूमाथि सहकारी ऐन अनुसार छुट्टै दण्ड सजायको व्यवस्था हुनसक्ने कानुनी व्यवस्था गरेको बताए ।

ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दूतावासमार्फत उजुरी दिएका छन् । केही क्यानेडियन र बेलायती नागरिक पनि उनीहरुबाट पीडित भएको खुल्न आएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ ।

उनीहरूले अमेरिकी नागरिकसँग अमेजनको बिल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए । ठगीमा पर्नेहरूमा प्रायः वृद्ध वृद्धा रहेको प्रवक्ता थापाले बताए।

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैङ्कले रोक्का गरिदिएको सिआईबीको अनुसन्धानमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update