टीकापुर, फागुन १८
कैलालीका व्यावसायीहरु बैंक तथा वित्तीय संस्थाले लगाएको चर्को ब्याजदरका विरुद्ध चरणबद्ध आन्दोलन उत्रिएका छन् । विभिन्न उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरु चर्को ब्याजदर कम हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
जिल्लाको टीकापुर, भजनी, लम्की, सुख्खड, अत्तरिया र धनगढी गरी मुख्य बजार क्षेत्रमा दैनिक विभिन्न दबावमूलक कार्यक्रम गर्दै व्यावसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वमा यस क्षेत्रका व्यवसायीहरुले नाराबाजीसहित र्याली गर्दै कोणसभा गर्ने, नो डिपोजिट जस्ता आन्दोलनका कार्यक्रम गरिरहेको टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाले बताए ।
‘हामीले १६ गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छौं, विहान ११ बजेसम्म व्यवसाय ठप्प पारेर दबावमुलक र्याली, कोणसभा र नो डिपोजिट जस्ता कार्यक्रम गरिरहेका छौं’ अध्यक्ष सापकोटाले भने ‘७/८ प्रतिशतमा लिएको ऋणबाट १६ प्रतिशतसम्म ब्याज तिर्नुपरेको छ, यो सरासर ठगी हो । त्यसकारण हामीसँग आन्दोलनको विकल्प छैन ।’
व्यवसायीहरुले बैंकहरुको चर्को ब्याजदरमा सरकारले नियन्त्रण गर्नुपर्ने माग गर्दै आइरहेका छन् । ‘सामान्यतया कुनै पनि व्यवसायमा २०-२५ प्रतिशत नाफा खाएर बेच्ने हो, अब व्याज नै १५-१६ प्रतिशत भएपछि व्यवसाय चलाउन सकिने अवस्था छैन’ व्यवसायी प्रकाश तिमिल्सेनाले भने ‘यो भनेको सोझै व्यवसाय बन्द गर भनेको हो भन्दा फरक पर्दैन । थोरै नाफाबाट कर्मचारी पाल्ने कि, घरखर्च धान्ने कि के गर्ने ?’
उता, भजनी उद्योग वाणिज्य संघले समेत बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको छ । भजनीका व्यवसायीहरुले कालो ब्यानरसहित बजार परिक्रमा गरेर आन्दोलन गरिरहेका छन् ।




