टीकापुर, फागुन १९
भन्सार छली टीकापुरतर्फ ल्याउँदै गरेको सामान प्रहरीले पक्राउ गरेको छ । टीकापुर नगरपालिका वडा नं. ८ बटनपुरस्थित भित्री सडकखण्डमा आज विहान डेढ बजे प्रहरीले भन्सार छली आउँदै गरेको सामान बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार प्रहरी चौकी कालाकुण्डाका प्रमुख प्रहरी नायब निरीक्षक डेनीबहादुर स्वाँरको कमाण्डमा गएको टोलीले वडा नं. ८ कालीमाटीका ४० वर्षीय शंकर साउँदले गोरु गाडामा भन्सार छली ल्याइरहेको सामान पक्राउ गरेको हो ।
प्रहरीले अवैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याउदै गरेको स्टिलको बाटा थान ९, बाल्टिन थान १२८, डाडुपन्यु थान ९४, टिफिन डिब्बा थान १२०, फलामको तावा थान २५, पाइन्टको चैन थान १२०, काँसको थाल थान ४६, इलेक्ट्रोनिक आइरन थान ३० र धातुको मेडल थान ६०० पक्राउ गरेको हो ।
ती सामानको मुल्य झण्डै २ लाख ७९ हजार ३ शय ५० रुपैयाँ बराबर हुन आउँछ । पक्राउ परेको सामानसहित गोरुगाडा र साउँदलाई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय सत्तीमा बुझाइएको प्रहरीले जनाएको छ ।




