Hamro Patra
४० करोडको लागतमा सञ्चालित प्लाष्टिक उद्योगको उद्घाटन

टीकापुर, फागुन २५

कैलालीको जानकी गाउँपालिका-१ दुर्गौलीमा प्लाष्टिकको डोरी उत्पादन गर्ने नेपालकै पहिलो टीकापुर प्लाष्टिक उद्योगको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

टीकापुरका दुईजना युवा व्यवशायी मुकेश बमकी आमा डम्बरदेवी बम र नवराज भट्टराईकी आमा सुशीलादेवी भट्टराईले रिबन काटेर उद्योगको उद्घाटन गरेका हुन् ।

बम र भट्टराईले झण्डै ४० करोडको लागतमा सञ्चालनमा ल्याएको उद्योगले प्लाष्टिकको दानाबाट डोरी उत्पादन शुरु गरेको बताए । नेपालमै दानाबाट डोरी उत्पादन गर्ने यो पहिलो उद्योग हो ।

यस अघि नेपालका अन्य भागमा सञ्चालनमा रहेका उद्योगले कच्चा पदार्थका रुपमा भारतबाट ल्याएको कच्चा डोरीबाट पुनः उत्पादन गर्दै आएका थिए । व्यवसायी भट्टराईले उद्योगका लागि चाहिने दाना भारतको हरियाणाबाट ल्याउने गरेको बताए । उद्योगबाट २ एमएम देखि २० एमएमसम्मको डोरी उत्पादन भइरहेको छ । भट्टराईले उद्योगको उत्पादन क्षमता प्रतिघण्टा १२५ केजी रहेको बताए ।

उनका अनुसार उद्योगबाट उत्पादित डोरी कृषि कार्यको लागि उपयोगी हुनेछ । उनले ९० प्रतिशत खपत कृषि क्षेत्रमा हुने बताए । उनले नेपालका अलावा भारतमा समेत बजार बिस्तार गर्ने गरी उत्पादन थालिएको बताए ।

उद्योगले प्लाष्टिकका बोरा उत्पादनको काम समेत थालेको छ । सञ्चालक बमले सिमेन्ट, दाना, चामल, पिठो आदिका लागि चाहिने प्लाष्टिकका बोराहरु प्रिन्टसहित उत्पादन भैरहेको बताए ।

उद्योगले हाल ७० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योग पूणर् रुपमा सञ्चालनमा आए १ शय ५० बढीले रोजगारी पाउने उद्योग सञ्चालक बम बताउँछन् ।

उद्योगबाट उत्पादित डोरी, प्लाष्टिकका बोरा काठमाडौं, विराटनगर, विरगञ्ज, भैरहवा लगायतका बजारमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update