टीकापुर, फागुन २६
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. २ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दैआएकी छन् । गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लागेकी हुन् ।
’दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन शुरु गरेकी थिएँ,’ उनले भनिन्, ’अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ।’ जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताइन् । मल उत्पादनका लागि उनले बाख्रापालनसमेत गरेकि छन् ।
रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन् । ’रासायनिक मललेभन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ ।’ उनले भनिन्, ’केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे ।’
पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशीले बताए । ’अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन,’ उनले भनिन्, ’तरकारी र फूलमा प्रयोग गर्न यो मल बढी लैजाने गरेका छन् ।’ उनले मल र बाख्राबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी हुनेगरेको बताइन् ।
गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताए । ’कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ,’ उनले भने, ’बेला-बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन ।’ गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ । यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ । गड्यौला मल प्रतिकिलो रु ३५ का दरले बिक्री हुने गरेको जोशीले बताए ।
उनले भने, ’गड्यौला प्रतिकिलो रु तीन हजारका दरले बिक्री हुन्छ ।’ जोशीले गड्यौला र मल दुवै बिक्री गर्दैआउनु भएको छ । पछिल्लो समय यहाँका अन्य किसानले पनि गड्यौला मलको उत्पादन गर्न थालेका छन् । ’यसमा धेरै मेहनत लाग्दैन, एकपटक गड्यौला ल्याएर राखे पुग्छ,’ उनको भनाइ छ ।
रासस




