भारतले सहमति नदिएपछि पुल निर्माण अन्योल
टीकापुर, फागुन २८
कैलालीको भजनी नगरपालिका वडा नं. ५ गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माण अन्योल बनेको छ । भारतले सहमति नदिएपछि पुल निर्माणको विषय अगाडि बढ्न नसकेको हो । दुई देशको सीमा क्षेत्रमा पुल बनाउनका लागि चालू आर्थिक वर्षमा प्रक्रिया अगाडि बढाइएको थियो । तर, भारतले सहमति नदिंदा पुल निर्माण अनिश्चित बनेको छ । गुलरिया घाटको वारि नेपाल र पारितिर भारत पर्ने गर्दछ ।
दुई देशको भूभागलाई जोड्ने स्थानमा पुल बनाउनका लागि भारतले सहमति नजनाएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताए । उनका अनुसार पुलको विषयमा माथिल्लो स्तरसम्म कैयौं पटक छलफल भयो । तर, भारतले सहमति जनाएन ।
‘भारतले सहमति नजनाएकाले यो घाटमा पुल बनाउन असम्भव देखिएको छ’, उनले भने,‘किनभने, उसको सहमतिबिना पुल बनाउन सकिदैन ।’
गुलरिया घाटमा पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा साढे ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले बजेट विनियोजन गरेपछि गत भदौमा पुल डिभिजन कार्यालयसहित जनप्रतिनिधिको टोलीले सो स्थानको निरीक्षण गरेको थियो ।
पुल बनाउनका लागि निरीक्षण भएपनि थप प्रक्रिया अगाडि बढ्न नसकेको भजनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशबबहादुर बुढाले बताए । ‘डीपीआरकै लागि तीन चोटी बजेट छुट्टयाइएको सुनियो’, उनले भने,‘तर, पुल निर्माणको थप प्रक्रिया अझै अगाडि बढेको छैन ।’
सो घाटमा पुल नहुँदा ओहोरदोहोरको माध्यम डुङ्गा बनेको छ । त्यहाँ नेपाल र भारत दुवै देशको तर्फबाट डुङ्गा सञ्चालन भइरहेको छ । भजनी नगरपालिकाले डुङ्गा सञ्चालनका लागि ठेकेदारलाई ठेक्का दिएको छ भने, भारतको तर्फबाट पनि सोही घाटमा ठेक्कामार्फत भारतीयले डुङ्गा सञ्चालन गरिरहेका छन् । यताबाट भारत जानेहरुको नेपाली ठेकेदारले र भारतबाट नेपालतर्फ आउनेहरुको भारतीय ठेकेदारले शुल्क लिने गरेको वडा अध्यक्ष बुढाले बताए । एउटै घाटमा दोहोरो ठेक्का भइ डुङ्गा सञ्चालन भइरहेकाले पुल बनेमा नेपाल-भारत दुवैका जनतालाई आउजाउ गर्न सहज हुने उनले बताए । अहिले दुवै देशका नागरिकलाई ओहोरदोहोर गर्न सास्ती छ ।
गुलरिया घाटबाट नेपालीहरु भारतको तिकुनिया लगायतका सीमावर्ती बजारमा किनमेल र स्वास्थ्योपचारका लागि जाने गरेका छन् । यसैगरी, भारतीयहरु पनि भजनी, जोशीपुर, सुखड लगायतका बजारमा किनमेलका लागि आउने गरेका छन् । पुल बनेमा दुवै देशका मान्छेलाई आउजाउ गर्न सहज हुने अध्यक्ष बुढाको भनाइ छ । ‘पुल भएमा पछि गएर भन्सार पनि फष्टाउन सक्छ’, उनले भने,‘हाम्रो यहाँको व्यापार, व्यवसायमा पनि सहयोग पुग्नेछ ।’
पुल बनाउनका लागि भारतले सहमति नदिएपछि नेपाली भू-भागमामात्रै पुल बनाउन सकिन्छ कि भनेर छलफल चलाइएको थियो । तर, नेपाली भू-भागमामात्रै नदीमा पुल बन्न सम्भव नदेखिएको भजनी नगरपालिकाका प्रवक्ता चौधरीले बताए । ‘भारतले सहमति नदिएपछि नेपाली भागमामात्र पुल बनाउने कि भन्ने पनि कुरो चल्यो’, उनले भने,‘तर, जग्गा अपुग हुने भएका कारण त्यो सम्भव देखिएन ।’
पक्की पुल बनाउनका लागि भारतले सहमति नदिएपछि झोलुङ्गे पुल बनाउनका लागि कुरा चलिरहेको बताइएको छ । सोही घाटको केही तल खक्रौलामा भने मोहना नदीमा पुल बनेको छ । सो पुलबाट दैनिक ओहोरदोहोर भइरहन्छ । नेपालीहरु किनमेलका लागि भारतको बेलराँया बजार जाने गरेका छन् भने भारतीयहरु टीकापुर, लम्की, चिसापानी पुग्ने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ १४:०३
प्रतिक्रिया दिनुहोस्




