टीकापुर, फागुन २८
कपिलवस्तुदेखि कञ्चनपुरसम्मका पश्चिम तराईका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन् ।
नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिवार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल बहस भएको छ । सोह्र विषयमा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनमा रोगको निदान तथा उपचारमा सघाउ पुर्याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ ।
फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।
संस्थाका कोर्ष डाइरेक्टर (पाठ्यक्रम निर्देशक) प्राध्यापक डा शुभेषराज कायस्थले केही वर्षअघि ठूलो जनसङ्ख्यामा गरिएको सर्वेक्षणअनुसार बर्दिया जिल्लाका झन्डै २० प्रतिशत थारू समुदायका मानिस सिकलसेललगायतको रोगले आक्रान्त रहेको फेलापरेको बताए ।
सिकलसेल सरुवा रोग भने होइन । रोगबाहक आमाबुवाको जिनका कारण यो रोग सन्तानमा देखा पर्दछ । चिकित्सकहरूका अनुसार सिकलसेल बहुअङ्गमा समस्या गर्ने रोग हो । पीडितमा पटक-पटक समस्या बल्झिरहन्छ । रातो रक्त कोषिका प्रभावित गर्ने यो रोगले शरीरका धेरै अङ्ग जस्तै आमासय, पित्तथैली, फोक्सो, हड्डीलगायतका भागलाई असर पुर्याउँछ ।
डा कायस्थले भने, ‘सिकलसेलमात्र भएका रोगी धेरै वर्ष बाँच्दैनन्, धेरैमा ४० वर्ष बाँच्न सक्ने देखिन्छ । ’विश्वका अन्य देशमा पनि देखिएको यो रोग मलेरिया प्रभावित क्षेत्रमा बस्ने आदिवासीमा बढी देखिने गरेको बताइएको छ ।
यो रोगको समस्यालाई मध्यनजर गरी नेपालमा पहिलोपटक विस २०७१ मा सरकारले प्रत्येक रोगीको उपचार व्यवस्थापनमा एक लाख बराबरको निःशुल्क सेवा प्रदान गरिरहेको छ । समयमै रोगीको पहिचान र उपचार हुन सकेमा बिरामीको आयु लम्ब्याउन सकिने र रोग रोकथाममा पनि सहयोग पुग्ने चिकित्सकहरू बताउँछन् ।
केही वर्षअघि गरिएको रगत परीक्षणका क्रममा कैलालीको टीकापुर, लम्कीचुहा, घोडाघोडी र पहलमानपुर क्षेत्रका ग्रामीण बस्तीमा यो रोगबाट प्रभावित थुप्रै व्यक्ति भेटिएका थिए । सिकलसेलका बिरामीले धेरै जाडो र गर्मीमा गाह्रो काम गर्न नमिल्ने बताइएको छ । उनीहरुले गाह्रो काम गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन गई हातखुट्टाका हड्डी असह्य हुने गरी दुख्ने गरेको बताइन्छ ।
वंशाणुगत सिकलसेल एनिमियाका कारण हुने जटिल समस्याबाट बच्नका लागि बिरामीले पर्याप्त पानी पिउनुपर्ने, धेरै कडा परिश्रम गर्न नहुने र फोलिक एसिड नामक औषधि सेवन गरिरहनुपर्ने चिकित्सकको सल्लाह छ ।
सिकलसेल एनिमियाको बाहक र पूणर् बिरामी हुने गर्दछन् । पूणर् बिरामीको उपचारका लागि नेपाल सरकारले निःशुल्क औषधोपचारको व्यवस्था गरेको छ । बाहकमा रोगको लक्षण देखिँदैन तर उनीहरूले आफ्नो सन्तानमा सिकलसेल सार्ने गरेको बताइएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको केही वर्षअघिको तथ्याङ्कअनुसार सिकलसेलका पाँच सय ८३ बिरामी दर्ता भएका थिए । यीमध्ये अधिकांश थारू समुदायका मानिस रहेका थिए ।
रासस




