Hamro Patra
क्याम्पसमा स्ववियु चुनावको सरगर्मी

टीकापुर, फागुन ३०

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा लामो समयपछि हुन थालेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी बढेको छ । चैत्र ५ गते हुने स्ववियु चुनावको मिति नजिकिएसँगै विभिन्न विद्यार्थी संगठनहरु प्रचार प्रसारमा जुटेपछि चुनावी सरगर्मी बढेको हो ।

कैलालीको टीकापुरस्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसमा समेत चुनावी चहलपहल बढेको छ । स्ववियु चुनावका लागि विभिन्न चारवटा विद्यार्थी संगठनहरुले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत धर्मबहादुर विष्टले दिएको जानकारी अनुसार नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र नागरिक विद्यार्थी समाजले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।

नेविसंघबाट नविन अधिकारी, अनेरास्ववियुबाट प्रदीप रावल, अखिल क्रान्तिकारीबाट नविन सञ्ज्याल र नागरिक विद्यार्थी समाजबाट प्रवेश आचार्यको उम्मेदवारी परेको छ ।

कुल १ हजार २ शय ३९ मतदाता रहेको क्याम्पसको स्ववियु निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षका लागि ४/४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ७ जना प्रत्यक्षतर्फको सदस्यका लागि २८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत विष्टले जानकारी दिए ।

स्ववियु निर्वाचनबाट १९ सदस्यीय कार्यसमिति चयन हुनेछ । अध्यक्ष, सचिव, कोषाध्यक्ष १/१ र ७ सदस्य प्रत्यक्षबाट निर्वाचित हुनेछन् भने समानुपातिकबाट ९ जना चयन हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update