Hamro Patra
अस्नेहरीको रामजानकी मन्दिरमा महायज्ञ हुने

टीकापुर, चैत्र ४

कैलालीको टीकापुर नगरपालिका वडा नं. ४ अस्नेहरीस्थित रामजानकी मन्दिर दिगम्बर अखाडामा श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञ महोत्सव २०७९ हुने भएको छ ।

आज पत्रकार सम्मेलन गरी आयोजकले दिएको जानकारी अनुसार चैत्र ९ गतदेखि १६ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञमा ईश्वरप्रेमी सेवा आश्रम टीकापुरका पिठाधीस श्री १००८ महामण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्यजी महाराजज्यूले कथावाचन गर्नेछन् ।

‘विभिन्न विचार, आस्था आदिका कारण विभिक्त भइरहेको समाजलाई जोड्नका लागि पनि यस्ता कार्यक्रम महत्वपूणर् हुन्छन्’ महामण्डलेश्वर स्वामी चैतन्य महाराजजीले भने ‘गौ, राष्ट्र र राष्ट्रियताको रक्षा गर्नका लागि समेत धर्मको रक्षा आवश्यक छ, त्यसर्थ रामनवमीको अवसरमा महायज्ञ आयोजना गर्न लागिएको हो ।’

रामनवमीको अवसर पारेर आयोजित महायज्ञमै मन्दिरमा खण्डित अवस्थामा रहेको पूरानो मुर्ति हटाई नयाँ मूर्ति राखिने मन्दिरका अध्यक्ष रामवली चौधरीले बताए ।

‘भगवान रामको सम्पूणर् परिवारसहितको मूर्ति राख्ने तयारी स्वरुप हामीले महायज्ञ आयोजना गर्ने निणर्य गरेका छौं’ अध्यक्ष चौधरीले भने ‘भगवान राम र माँ जानकी रहने मन्दिरलाई जनकपुरधाम पछिको धाम बनाइने लक्ष्य लिएका छौं, त्यसका लागि सबैलाई सहयोग गरिदिन अनुरोध गर्दछु ।’

महायज्ञमा शान्ति कलश यात्रा, तुलादान, भूमिदान, अन्नदान, गौदान, चौरासी दान, ब्रतबन्ध, नौ ग्रह शान्ति पूजा गरिने आयोजकले जानकारी दिएको छ । महायज्ञको तयारीका लागि विभिन्न समितिहरु समेत गठन गरिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update