टीकापुर, चैत्र ५
काठमाडौँ महानगरपालिका वडा नं. १६ मा कार्यालय रहने गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य राखी खुलेको ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामको कम्पनीले टीकापुरमा सम्पर्क कार्यालय खोली करोडौँ रुपियाँ उठाएको पाइएको छ ।
इजाजतमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने भनिए पनि व्यवहारमा भने नेटवर्किङ शैलीमा एक व्यक्तिले अरू धेरै व्यक्तिलाई त्यसमा जोडेर पैसा असुली कमाऊ धन्दा चलाइ रहेका छन् । प्रा.लि.ले पहिलो श्रेणीका व्यक्तिबाट १५ हजार, दोस्रो श्रेणीका व्यक्तिबाट ४० हजार र तेस्रो श्रेणीका व्यक्तिबाट प्रतिव्यक्ति एक लाख बिस हजारका दरले पैसा उठाएको भेटिएको छ ।
ग्लोबल ओरियन्समा पैसा बुझाइ सकेपछि फोन, फेसबुकबाट मानिस बोलाएर आफूले धेरै तलब पाएको भनिदिनु पर्ने र ग्लोबलसँग भेट गराई दिए बापत मासिक तलब पाइने लोभमा युवाहरू फसेका छन् ।
अछाम ढकारीका चिरञ्जीवी बुढा अपरिचित महिलाले फेसबुकमा जोडिएर टीकापुरमा जागिर छ भनेपछि आफू चिसापानीबाट टीकापुर आएर दुई दिनको तालिम लिई मासिक १८ हजारका दरले तलब पाइने आसमा जग्गा बेचेर एक लाख बिस हजार तिरेको बताए । बुढाले ५० हजार नगद भरत शाहीलाई र ७१ हजार बेकेन्द्र विकलाई ई-सेवाबाट दिएको तीन महिनापछि चार हजार दुई सय ८४ रुपियाँ मिलेपछि आफू ठगिएको थाह पाएको बताए ।
गाउँमै आर्थिक अभाव झेलेका दैलेखका एक युवा पनि मासिक चार हजार पाँच सय रुपियाँ पाउने लोभमा ४० हजार रुपियाँ फसाएर बसेका छन् । ग्लोबलले टीकापुरमा सम्पर्क कार्यालय र ठाउँ ठाउँमा होस्टेल राखेको छ । आजकाल विभिन्न ठाउँमा गरी तीन सय जति युवाहरू दुई दिने कक्षा लिएर पैसा जम्मा गर्दै अरू साथीहरूलाई बोलाउन लागिरहेका छन् ।




