टीकापुर, चैत्र ७
कैलालीको टीकापुरस्थित बीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघका नविन अधिकारी विजयी भएका छन् ।
निर्वाचन अधिकृत धर्मबहादुर विष्टले दिएको जानकारी अनुसार स्ववियु अध्यक्षमा अधिकारीले ४ शय ३० मतसहित विजयी भएका हुन् । सचिव र कोषाध्यक्षमा समेत नेविसंघको उम्मेवारहरु निर्वाचित भएका छन् । सचिवका उम्मेदवार तपेन्द्र भण्डारीले ३ शय ३५ मत र कोषाध्यक्षका उम्मेदवार विपनाकुमारी चौधरी ३ शय ५ मतसहित विजयी भएका हुन् ।
यता, अखिल क्रान्तिकारीका नविन सञ्ज्यालले १ शय ३२ मत, अनेरास्वबियूका प्रदिप रावलले ८५ मत र नागरिक विद्यार्थी समाजका प्रबेश आचार्यले ७२ मत पाएका छन् । अखिल क्रान्तिकारी माओवादी केन्द्र, अनेरास्ववियु नेकपा एमाले र नागरिक विद्यार्थी समाज नागरिक उन्मुक्ति पार्टीका विद्यार्थी संगठन हुन् ।
सचिवमा अखिल क्रान्तिकारीका सरस्वती ठकुल्लाले १ शय ५४ मत, नागरिक विद्यार्थी समाजका सागर विश्वकर्माले ८७ मत र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका महेन्द्र रावलले ९४ मत पाएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अनेरास्वबियूका बिनिता विष्टले १ शय ८५ मत, अनेरास्ववियू (एस) विद्यार्थी किरण चौधरीले ९५ मत पाएका छन् भने नागरिक विद्यार्थी समाजका सीता चौधरीले ७३ मत पाएका छन् ।
सदस्यहरुको मतगणना जारी छ । सदस्यमा समेत नेविसंघका उम्मेदवारले अग्रता लिइरहेको बताइएको छ । १ हजार १ मतदाता रहेको विरेन्द्र विद्यामन्दिरमा ७ शय ५३ मत खसेको थियो ।
वीरेन्द्रको जितसँगै कैलालीमा सम्पन्न भएका निर्वाचनमा नेविसंघ निल हुनबाट जोगिएको छ ।
कैलालीमा सम्पन्न स्ववियु निर्वाचन भएका त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त १० वटै क्याम्पसमध्ये नेकपा एमाले निकट अनेरास्ववियुले ५ क्याम्पस, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले ४ क्याम्पस र नेविसंघले एक क्याम्पसमा नेतृत्व कब्जा गरेका थिए ।
धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, लम्की बहुमुखी क्याम्पस र बुलबुले बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व अनेरास्ववियुले जितेको छ ।




