Hamro Patra
पुस्तकालयमा पढ्न थालेपछि नगद १० हजार पाए शाहीले

टीकापुर, चैत्र ११

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ का नवीन शाही काठमाडौंमा बीएस्ससी कृषि विज्ञान संकायमा अध्ययनरत छन् । पारिवारिक कारणले दुई महिनादेखि टीकापुरमा रहेका उनी फुर्सद भयो कि टीकापुर सामुदायिक पुस्तकालय पुग्छन् । पाठ्यक्रम तथा आफूले खोजेका साहित्य, इतिहास, आध्यात्मिक लगायत थुप्रै किताब शान्त वातावरणमा बसेर अध्ययन गर्छन् । फागुन महिना मात्रै उनले ८४ घण्टा १४ मिनेट पुस्तकालयमा अध्ययन गरेपछि उनी उत्कृष्ट पाठकका रुपमा सम्मानित भएका छन् ।

शनिवार टीकापुर सामुदायिक पुस्तकालयको आयोजनामा शाहीलाई फागुन महिनाको उत्कृष्ठ पाठकका रुपमा नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।

‘संसारमा सायदै पढेर पुरस्कार पाइन्छ होला’ खुशी व्यक्त गर्दै शाहीले भने ‘शान्त वातावरणमा आफूले चाहेको ज्ञान लिएर पुरस्कृत हुन पाउँदा निकै खुशी लागेको छ ।’ उनले पुस्तकालय पुस्तक नपाएर अध्ययन गर्ने चाहनाबाट वञ्चित हुनेहरुको लागि वरदान भएको बताए ।

१० हजार भन्दा बढी पुस्तक रहेको सामुदायिक पुस्तकालयमा पढ्न आउनेहरुको संख्या कम हुँदै गएपछि टीकापुर सरोकार समुह र पुस्तकालयबीच मासिक १० हजार उत्कृष्ट पाठक पुरस्कार दिन थालिएको छ । गत मंसिर महिनादेखि शुरु गरिएको पुरस्कारले पुस्तकालयमा आएर अध्ययन गर्नेहरुको संख्या बढ्दै गएको पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले बताए ।

‘महिनामा १०/१२ जना मात्रै आउने गरेका थिए’ अध्यक्ष जोशीले भने ‘फागुन महिना मात्रै १ शय ५३ जनाले पुस्तकालय मा पुगेर अध्ययन गरेका छन् ।’ उत्कृष्ट पाठकका रुपमा शाहलाई कार्यक्रमका प्रमुख अतिथि पत्रकार मातृका तिमिल्सेना र पुस्तकालयका अध्यक्ष जोशीले पुरस्कार र प्रमाणपत्र वितरण गरेका हुन् ।

टीकापुर सरोकार समूहमा आबद्ध सदस्यहरुमध्येबाट उत्कृष्ट पाठकका लागि पुरस्कार सौजन्य हुँदै आएको छ । फागुन महिनाका लागि टीकापुर घर भई काठमाडौंमा व्यवसाय गर्दै आएका सुरेशमणी त्रिपाठीले आफ्ना पिताजी बुद्धिसागर मणि त्रिपाठीको सम्मानमा सौजन्य गरेका हुन् ।

उक्त कार्यक्रममा पत्रकारको नजरमा टीकापुर सामुदायिक पुस्तकालय, सेवा, प्रभाव र प्रचारप्रसार’ विषयमा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले सामुदायिक पुस्तकालयले अध्ययन संस्कृति बढाउँदै टीकापुर क्षेत्रको समग्र विषयवस्तुमा बौद्धिक बहस चलाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका तिमिल्सेनाले टीकापुर क्षेत्रका गम्भीर विषयहरुमाथि समेत यस क्षेत्र बौद्धिक वर्ग नबोल्नु दुःखद् भएको बताए । कार्यक्रममा बोल्दै टीकापुर सरोकार समूहका कोषाध्यक्ष एवं पत्रकार परमानन्द पाण्डेले पुस्तकालयले रचनात्मक गतिविधिमार्फत् आमनागरिकलाई पुस्तकालयसँग जोड्नुपर्ने बताए ।

‘डिजिटल युगमा बाचिरहेका हामीहरुका लागि टीकापुर सामुदायिक पुस्तकालयलाई इलाइब्रेरीको अवधारणामा लैजानुपर्ने आवश्यकता छ’ पाण्डेले भने ‘त्यसतर्फ यसका स्थानीय तह, सरोकारवाला सबैले ध्यान दिनुपर्दछ, पुस्तकालय टीकापुर क्षेत्रको बौद्धिक सम्पत्ति हो ।’

कार्यक्रममा पत्रकार ईश्वर साउँद, झलनाथ खनाल, यज्ञराज सिम्खडा लगायतले पुस्कालयबारे धारणा राखेका थिए भने कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव देबेन्द्र शाहले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update