Hamro Patra
सन्कट्टीमा पुल निर्माण हुनेभएपछि स्थानीय हर्षित

टीकापुर, चैत्र १२

कैलालीको कर्णाली नदीको सन्कट्टीमा पक्की पुल निर्माण हुनेभएको छ ।

टीकापुरवासीको एउटा सपना हो- कणर्ाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कणर्ाली नदीमा डुङ्गामा जोखिमपूणर् यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् । लामो समयदेखि पटक-पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको थिएन ।

टीकापुर नगरपालिकाका कमल बुढा पुल बन्ने खबरले खुसीको आभास भएको बताउँछन । उनी त्यहीँ सनकट्टीको बाटो हुँदै दैनिक ओहोरदोहोर गर्छन । घर टीकापुर भए पनि व्यापारका लागि बर्दियाको गेरुवा गाउँपालिका शान्तिबजारमा गइरहनुपर्छ । आवतजावतका लागि डुङ्गा आवश्यक पर्छ । ‘हिउँदमा कर्णालीमा पानी कम हुन्छ । डुङ्गामा सवार गर्दा खासै डर लाग्दैन’, कमलले भने ‘बर्खाको उर्लदो भेलमा किनारमा नपुग्दासम्म मृत्युले झस्काउँछ । पुल बनेपछि सहजरुपमा आवागमन हुने आशा पलाएको छ ।’

टीकापुरका सुन्दर चौधरी मोटरसाइकलमा व्यापार गर्छन । उनी बिहानै चाउमिनलगायत अन्य सामान लिएर बर्दिया पुग्छन । उनको त्यो दैनिकीजस्तै हो । बर्दिया पुग्नका लागि उनी राजापुरको बाटो जानुपरे सत्ती पुल प्रयोग गर्छन । नभए त्यहीँ सन्कट्टीमा सञ्चालन हुँदै आएको डुङ्गा । ‘दैनिक बर्दिया जाँदा खर्च बढेको छ भने जोखिम पनि उत्तिकै छ’, चौधरीले भने, ‘आफूले चाहेको बेला डुङ्गा पाइँदैन । साँझ समयमा पुग्नुपर्छ भने बिहान समय मिलाएर पुग्नुपर्छ ।’ पुल निर्माणको खबरले टीकापुर र बर्दियाको दुरी छोटो बनाउने विश्वास चौधरीले व्यक्त गरे ।

सुदुरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण भएपछि दुई प्रदेश तथा टीकापुर र बर्दियाको व्यावसायिक सम्बन्ध स्थापित हुने अनुमान गरिँदै आएको छ । सन्कट्टीमा पुल निर्माणकै लागि कैयौँ पटक बहस र छलफल भएको थियो भने सङ्घीय सरकार समक्ष ‘डेलिगेशन’ पनि पुगेको थियो ।

अहिले पुल निर्माणका लागि सङ्घीय सरकारले रसुवा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेर काम अगाडि बढाएको छ । गएको मङ्सिरमा भएको सम्झौताअनुसार ५३ महिनामा पुल निर्माण गरिसक्नुपर्ने छ । करिब एक अर्बभन्दा बढीको लागत रहेको उक्त पुल सात सय ५० मिटर लम्बाइको रहने निर्माण कम्पनीका इञ्जिनियर कृष्ण ढुङ्गेलले बताए ।

‘सम्झौता भएपछि स्थलगत अध्ययन गरेर डिजाइनको काम भइरहेको छ । डिजाइनको काम सकिएपछि लगत्तै काम सुरु गर्छौँ’, उनले भने, ‘सम्भवतः एक डेढ महिनामा डिजाइनको काम सम्पन्न हुन्छ होला । त्यो समयसम्म कर्णाली नदीमा पानीको बहाव नबढे काम सुरु गर्छौँ, नभए बर्खापछि काम सुरु हुन्छ ’
रासस 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update