टीकापुर, चैत्र १३
कैलालीमा विद्युत् अनियमित हुँदा नागरिकलाई समस्या भएको छ । पछिल्ला दिनमा पटकपटक बत्ती झ्याप्पझ्याप्प जान थालेको छ । यसबाट मेसिनरी सामान बिग्रन थालेका छन् भने विद्यार्थीलाई समेत समस्या भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई) को तयारीमा रहेकी टीकापुरकी सीमा खत्री साँझको समयमा जाने बिजुलीका कारण समस्यामा परेको बताईन ।
‘परीक्षा नजिकिँदै छ । यो बेला साँझपख विजुली नगए पनि हुन्थ्यो तर विजुली गइरहँदा अध्ययनमा समस्या भएको छ’, उनले भने, ‘हरेक दिन साँझ अध्ययन गर्ने समयमा बत्ती हुँदैन । लाइन जाने भएमा विद्युत् कार्यालयले सूचना दिनुपर्छ तर विना सूचना पटक-पटक दिनमा पाँच पटकभन्दा बढी बत्ती जाने गरेको छ ।’ अनियमित बत्तीले घरका मेसिनरी सामानसमेत बिग्रन थालेका छन् । बत्ती अनियमित हुँदा जानकी गाउँपालिकाको मुनुवाकी आशा भुलका घरका बत्ती, पङ्खालगायतका सामान बिग्रिएका छन् ।
‘बत्ती झ्याप्पझ्याप्प जाने आउने हुन्छ, घरका मेसिनरी सामान बिग्रिए, गरिरहेको काम अबरुद्ध हुन्छ’, उनले गुनासो गरे, ‘साँझको समयमा बढी बत्ती जान्छ । ’समय समयमा विद्युत् लाइन कट्दा टीकापुरका कृष्णलाल शर्मा पनि दिक्क छन् । उनले साँझ खाना पकाउने, खाना खाने समयमा पटक पटक विद्युत् जाँदा थप समस्या भएको बताए । ‘कहिलेकाहीँ दुईदेखि तीन घण्टासम्म बत्ती आउँदैन । एक/दुई दिन भए पनि गुनासो नगर्नु । विद्युत् अनियमित भएको महिनौँ भइसक्यो ।’
गर्मी याम सुरु भएकाले विद्युत् अनियमित हुँदा झन समस्या भएको नागरिकको गुनासो छ । सरस्वती धानुक पनि सबै नागरिकलाई समस्या भइरहेको बताए । उहाँ बत्ती काट्दा सूचना दिनुपर्ने भए पनि सूचनाबिना पटक-पटक बत्ती काट्दा निकै समस्या भएको बताए । ‘सेवा प्रदायकले सेवा अबरुद्ध हुँदा सूचना दिनुपर्ने हुन्छ । तर विद्युत् कार्यालयले सूचना दिन आवश्यक ठानेको देखिँदैन’,उनि भन्छन्, ‘उपभोक्ताको अधिकारबारे ध्यान दिनुपर्छ । विद्युत् अनियमित हुँदा सबैलाई मर्का परेको छ ।’
विद्युत् प्राधिकरण वितरण केन्द्र शाखा कार्यालय टीकापुरले गर्मी सुरु भएकाले गर्मीको समयमा समस्या नआवस भनी फागुन महिनादेखि सुधारका काम भइरहेका जनाएको छ । कार्यालय प्रमुख माधव महत मर्मत अझै एक डेढ महिना चल्ने जनाउँदै मर्मतका क्रममा बत्ती काट्नु, जोड्नु परिरहेको बताए । ‘मर्मत भइरहेको क्षेत्रमा केही समय विद्युत् अवरुद्ध हुने गरेको हो । बर्खायाममा विद्युत् आपूर्तिमा समस्या नहोस् भनी मर्मत गर्नुपर्ने ठाउँमा मर्मतको काम भइरहेको छ’, उनले भने, ‘अझै करिब डेढ महिना मर्मतको काम चल्नेछ । यो समयमा बिजुली बन्द गर्नु हाम्रो बाध्यता हो ।’
रासस




