Hamro Patra
उद्योग सञ्चालककै घरमा अवैध काठ फेला

टीकापुर, चैत्र १३

कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ४ गणेशपुरबाट फागुन ५ गते २३३ क्युफिट अवैध काठ बरामद गरेको छ । सुखड सव-डिभिजन वन कार्यालयले गणेशपुरमा रहेको सुनिता काष्ठ तथा स्टिल फर्निचर उद्योगबाट ८० क्युफिट र उद्योग सञ्चालक यज्ञराज आचार्यको घरबाट १५३ दशमलव ६८ क्युफिट अवैध सालको गोलिया चिरान काठ बरामद गरेको हो ।

तर, वन अधिकारीले काठ चोरी तस्करीमा संलग्न फर्निचर उद्योग सञ्चालक यज्ञराज आचार्यलाई काठ बरामद भएको एक हप्ता भइसक्दा पनि पक्राउ गरेको छैन । वन अधिकारीले आचार्यलाई उन्मुक्ति दिन पक्राउन नगरेको स्थानीयले गुनासो गरेका छन् ।
स्थानीयले वन अधिकारी र प्रहरी आएर मिलबाट तीन ट्रली मिलाएको झ्याल ढोका र चार वटा सालका गोलिया बरामद गरेको बताएका छन् ।

तर, अवैध काठ संकलन गर्ने मिल सञ्चालकलाई पक्राउ गरेर वन मुद्दा चलाउन वन अधिकारीले नचाहेको स्रोतले बतायो । वन अधिकारीले राजनीतिक दबाबका कारण संलग्नलाई पक्राउ गर्न र मुद्दा चलाउन नसकेको बताइएको छ । सुखड सव- डिभिजन वन कार्यालयले यज्ञराज आचार्यको फर्निचर उद्योग र घरबाट अवैध सालको चिरान गरेको र गोलिया काठ बरामद भएको पुष्टि गरेको छ ।

सुखड सव-डिभिजन प्रमुख सोमलाल घलानले २३३ क्युफिट काठ बरामद भएको बताए । तर आचार्यलाई भने पक्राउ गर्न नसकेकाले मुद्दा दर्ता नभएको उनले बताए । ‘हामीले यज्ञराज आचार्यले सञ्चालन गरेको फर्निचर उद्योगबाट करिब ८० क्युफिट र उनको घरबाट १५३ दशमलव ६८ क्युफिट सालको काठ बरामद गरेको हो’, उनले भने, ‘यो विषयमा थप अनुसन्धान चलिरहेको छ भने आचार्यलाई पक्राउ गर्न भने सकिएको छैन ।’

सुखड सव-डिभिजन प्रमुख घलानले अनुसन्धान टुङ्गोमा पुगेपछि मुद्दा दर्ता गरिने बताए पनि स्थानीयले वन कर्मचारीले दोषीलाई पक्राउ गर्न नचाहेको आरोप लगाएका छन् । सेटिङमा घटना सामसुम पार्न खोजेको स्थानीयले आशंका गरेका छन् । पहलमानपुर डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत गोकुल रिजालले अनुसन्धान अधिकारी तोकेका छौँ, अदालतबाट पक्राउ आदेश मागेर पक्राउ गर्ने बताए । यसमा कुनै मिलेमतो हुने र घटना लुकाउने काम कहिँकतैबाट नहुँने दाबी गरे । तर स्थानीयले भने राजनीतिक दबाब र वन कर्मचारीको मिलेमतोमा घटना लुकाउने प्रयास भइरहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update