Hamro Patra
टीकापुरका पुनःस्थापना केन्द्रको अनुगमन

टीकापुर, चैत्र १४

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले टीकापुरमा रहेका पुनःस्थापना केन्द्रहरुको अनुगमन गरेका छन् । रानासहित इलाका प्रहरी कार्यालय टीकापुर, नगरपालिका, स्वास्थ्य शाखा, पत्रकारसहितको टोलीले टीकापुर नगरपालिका वडा नं. १ मा रहेका पाँच वटा पुनःस्थापना केन्द्रको अनुगमन गरेका हुन् ।

टोलीले टीकापुरस्थित नयाँ बिहानी पुनःस्थापना केन्द्र, नवजीवन पुनःस्थापना केन्द्र, आशा किरण पुनःस्थापना केन्द्र, साहारा पुनःस्थापना केन्द्र र प्रयासः एक आशा पुनःस्थापना केन्द्रको अनुगमन गरेको हो ।

पुनःस्थापना केन्द्रको भौतिक अवस्था, भान्सा, स्वास्थ्य मापदण्ड, दुव्र्यसनीहरुको संख्या, उपचारको पद्दति, सुरक्षाको प्रबन्ध लगायतका विषयमा अनुगमन गरिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले बताए ।

‘वार्षिक रुपमा पुनःस्थापना केन्द्रको अवस्थाबारे अनुगमन गर्नुपर्ने हुन्छ, त्यसैको लागि हामीले अनुगमन गरेका हौं’ रानाले भने ‘गृह मन्त्रालयको मापदण्ड अनुसार भए नभएको अवस्थाबारे सुझावहरु समेत दिएका छौं, हामी फेरि पनि अनुगमनमा जानेछौं ।’

उनले तराई क्षेत्रमा ३ रोपनी क्षेत्रफलमा पक्की संरचना, सफा स्वस्थ खाना, किचेन, नियमित स्वास्थ्य चेकजाँच तथा परामर्श लगायतका मापदण्ड पूरा गर्नुपर्ने बताए । ‘पुनःस्थापना केन्द्रहरु दुव्र्यसनीका रोगीहरुको उपचार गर्ने स्थानहरु हुन्’ रानाले भने ‘त्यसकारण समेत मापदण्ड पूरा गर्नका लागि सुझाव दिएका छौं ।’

टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले पुनःस्थापना केन्द्र आफैमा उपचार गर्ने थलो भएकाले यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । 

‘सञ्चालनमा रहेका केन्द्रहरुको हामीले अनुगमन गरेका छौं, कतिपय ठिकै अवस्थामा छन् भने कतिपय केन्द्रहरुले सुधार गर्नुपर्ने देखिएको छ’ उपप्रमुख शाहले भने ‘नियमित स्वास्थ्य चेकजाँच गर्न, बस्ने, खानेकुराको उचित प्रबन्ध गर्न, अध्ययन गर्ने, खेल्ने व्यवस्था गर्न सुझाव समेत दिएका छौं, आशा छ, आगामी दिनमा सुधार हुनेछ ।’

टोलीमा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरज खड्काले पुनःस्थापना केन्द्रमा बसेकाहरुलाई पर्याप्त मात्रामा अध्ययन गर्ने वातावरण बनाइनु पर्ने बताए ।

‘उनीहरुलाई कोठामा थुनेर राखेर मात्रै हुँदैन’ निरीक्षक खड्काले भने ‘उनीहरुको मागलाई ध्यानमा राखी खोजेको बेला अध्ययन गर्नका लागि सानो भए पनि पुस्तकालय, पुस्तकहरुको व्यवस्था गर्नुपर्छ ।’ लागुऔषध दुव्र्यसनीको संख्या दिनप्रतिदिन बढ्दै गएको चर्चा भइरहेका बेला प्रशासनसहितको टोलीले अनुगमन गरेको हो ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update