Hamro Patra
कम तौलका ढक प्रयोग गरी ठगी

टीकापुर, चैत्र १७

टीकापुर नगरपालिकाका ग्रामीण बजारका पसलमा तौल कम र बिगे्रका ढक, तराजु प्रयोग गरेको पाइएको छ । टीकापुर नगरपालिका वडा नं. ३ कार्यालय र उपभोक्ता हित संरक्षण उपशाखाले संयुक्त रूपमा २९ वटा पसल अनुगमन गर्दा यस्तो भेटिएको हो ।

छ वर्षदेखि मासु व्यापार गरिरहनुभएका टीकापुर नगरपालिका वडा न. ३, चटिया बजारका धर्मेन्द्र चौधरीको पसलमा एक किलो भनेर प्रयोग गरेको ढक ९५१ ग्राम मात्रै भेटिएको थियो । ढकमा तौल मिलाउन भरेको सिसा हटाइएको र ढकका कुना टुटाइएको छ ।

पुछरी बजारमा दसौँ वर्षदेखि चलिरहेको सुरेश किराना पसलमा पनि एक किलोको ढककोे तौल ९६० ग्रामजति मात्रै भेटिएको थियो । यहाँका केही पसलमा ढकको तौल कम देखिएको छ । धेरैजसो पसलमा तराजुको सन्तुलन बिगारिएको बताइएको छ ।

गाउँका पसल नियमित अनुगमन नहुने, बिक्रेता पनि सामान बेच्नबाहेक केही नजानेका हुनाले उपभोक्ता ठगिएका छन् । टीकापुर नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख नन्दबहादुर केसीका अनुसार ग्रामीण बजारमा नापतौलमा ठगी र एक/दुई वर्षअघि नै म्याद नाघेका खानेकुरा पनि बिक्री स्थलमा भेटिएका छन् ।

नगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐनअनुसार वडाको समन्वयमा ग्रामीण बजारमा पनि अनुगमन थालिएको छ । वडासचिव ताराविक्रम रानाले गाउँका बजारमा नापतौल तथा म्याद गुज्रिएका खाद्यवस्तु पाइएकाले व्यवसायीलाई बोलाएर छलफल राखिने र बजार व्यवस्थित गरिने बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update