टीकापुर, चैत्र १९
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकाको वेबसाइट पोर्टल बनाएको छ । पालिकाले राख्नुपर्ने र राख्न चाहेको शीर्षक थप्न मिल्ने व्यवस्था वेबसाइटमा गरिएको छ । यद्यपि धेरै पालिकाले कार्यपालिकाका निणर्य वेबसाइटमा सार्वजनिक गरेको पाइन्न ।
सञ्चारकर्मी प्रकाश मिश्रका अनुसार पालिकाले प्रचार गर्नुपर्ने वा सार्वजनिक गर्नुपर्ने सूचना बोलाएर दिन्छन् । तथापि नगरपालिकाका धेरैजसो निणर्य सार्वजनिक हुँदैनन् । कतिपय निणर्य विवादमा परेपछि मात्रै सार्वजनिक हुने गरेका छन् । जानकी गाउँपालिका-४ का परशुराम महतोले जनप्रतिनिधिका नम्बर राखेजस्तै निणर्यसमेत सार्वजनिक गरिनुपर्ने बताए ।
जोशीपुरका अभिमन्यु चौधरीले पालिकाको वेबसाइटमा सेवाग्राहीलाई आवश्यक जानकारी नहुने बताए । उनले कुनै पनि विषयमा जानकारी चाहिए पदाधिकारीलाई या स्वकीय सचिवलाई सोध्नुपर्ने बाध्यता रहेको बताए । जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले पालिकाका निणर्य सार्वजनिक गर्नुपर्ने विषयमा ध्यान नै नगएको भन्दै अबका दिनमा निणर्य वेबसाइटमा राखिने बताए ।
राष्ट्रिय सूचना आयोगका सूचना अधिकारी विश्वबन्धु पौडेल सार्वजनिक सरोकारका सूचना सबैले सार्वजनिक गर्नुपर्ने र नागरिकले जानकारी नपाएको गुनासो गरे कारबाही गरिने बताए । कैलालीका टीकापुर, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाले कार्यपालिकाका निणर्यलगायतका सार्वजनिक सूचना वेबसाइटमा राख्ने गरेका छन् ।




