Hamro Patra
न्यु मिडिया सम्बन्धी प्रशिक्षण शुरु

दिपायल, चैत्र २१

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा आजदेखि डोटीको दिपायलमा न्यु मिडिया सम्बन्धी प्रशिक्षण कार्यक्रम शुरु भएको  छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका ३५ जना पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा सञ्चार माध्यममा भइरहेका नयाँ प्रयोग, प्रविधिको प्रयोगबारे जानकारी दिने उद्देश्यले प्रशिक्षण शुरु गरिएको हो ।

उक्त कार्यक्रम उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीस निरौलाले देशको परिवर्तनमा सञ्चार माध्यमको भूमिका अहम् भएका कारण संविधानमै पूणर् प्रेस स्वतन्त्रता उल्लेख गरिएको बताए ।

‘आजको युगमा सूचना नै शक्ति हो, जोसँग सूचना छ, त्यो बलियो छ’ न्यायाधीस निरौलाले भने ‘देश परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूणर् भूमिका भएकाले नै हाम्रो संविधानमा पूणर् स्वतन्त्रताको ग्यारेन्टी गरिएको हो ।’

निरौलालले सही सूचना जनतासम्म पुर्याउन पत्रकारहरु जिम्मेवार बन्नुपर्ने उल्लेख गरे । उनले भने ‘दिपायलस्थित उच्च अदालतले नेपालमै पहिलो पटक भर्चुअल बकपत्रको व्यवस्था गरेका छौं, यो प्रविधिसँग न्यायलय जोड्ने प्रयास हो ।’

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको पत्रकार क्षमता बिकास कार्यक्रम अन्तर्गत दुई दिने न्यु मिडिया सम्बन्धी प्रशिक्षणमा उज्ज्वल आचार्य र मनमोहन स्वाँरले प्रशिक्षण दिनेछन् ।

महासंघले सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको सहकार्यमा सञ्चालन गरेको कार्यक्रमको सञ्चालन महासचिव रामसिंह ठगुन्नाले गरेका हुन् भने स्वागत नेपाल पत्रकार महासंघ डोटी शाखा अध्यक्ष मोहन शाहीले गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update