Hamro Patra
टीकापुरका दुबै क्याम्पसमा नेविसंघको कब्जा

टीकापुर, चैत्र २२

कैलालीका अधिकांश क्याम्पसहरुमा लज्जास्पद हार व्यहोरेको नेपाल विद्यार्थी संघ टीकापुरका दुई वटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन कब्जा गर्न सफल भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसमा हिजो सम्पन्न भएको स्ववियु निर्वाचनमा प्यानलसहित विजयी हुँदै नेविसंघले स्ववियु कब्जा गर्न सफल भएको हो ।

स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका नृप थापा निर्वाचित भएका हुन् । यसअघि वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा सम्पन्न भएको स्ववियु निर्वाचनमा नेविसंघका नविन अधिकारी अध्यक्षमा निर्वाचित भएका थिए ।

आज विहान सम्पन्न मतगणना अनुसार नेविसंघका थापा ४ शय ७५ मतसहित विजयी भएका हुन् । निर्वाचनमा अनेरास्ववियुका सुन्दर विश्वकर्माले ३ शय ४२, नागरिक विद्यार्थीका भिमबहादुर चौधरीले २ शय ६६ र क्रान्तिकारीका भुपेन्द्र रावलले २ शय ३३ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी सचिवमा ५ शय १० मत प्राप्त गर्दै नेविसंघका मणिराज भट्ट विजयी भएका छन् । सचिवमा प्रत्यासी नागरिक विद्यार्थी समाजका अनुज चौधरीले २ शय ८७ मत, अखिल क्रान्तिकारीका मनिषा चन्दले २ शय २६ र अनेरास्ववियुका लक्ष्मी ढकालले २ शय २४ मत प्राप्त गरेका हुन् ।

कोषाध्यक्षमा नेविसंघकै अनिता डगौरा थारु ४ शय ७४ मतसहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका गणेश ओलीले २ शय ८४ मत, अनेरास्वयिुका यमराज साउँदले २ शय ६९ र नागरिक विद्यार्थी समाजका निर्मला धामीले २ शय २३ मत प्राप्त गरेका हुन् ।

हिजो सम्पन्न भएको मतदानमा १ हजार ३ शय ४३ मत खसेको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिएका छन् । क्याम्पसमा १ हजार ६ शय १२ मतदाता रहेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update