Hamro Patra
टीकापुर साहित्य महोत्सव सुरु

टीकापुर, चैत्र २५

कैलालीको टीकापुरमा तीनदिने टीकापुर साहित्य महोत्सव सुरु भएको छ । शनिबार बिहानदेखि टीकापुर साहित्य समाजको आयोजनामा महोत्सव सुरु भएको हो।

शनिबारदेखि सुरु भएको महोत्सव सोमबारसम्म चल्ने र विभिन्न विषयमा विमर्श चल्ने समाजका अध्यक्षसमेत रहेका साहित्यकार महेशविक्रम शााहले जानकारी दिए।

महोत्सवको पहिलो दिन लेखक सीके लालले ‘साहित्यमार्फत सामाजिक सद्भाव’ शीर्षकमाथि विद्वत प्रवचन दिएका छन् ।

महोत्सवमा नेपाली भाषा, साहित्यका साथै सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन, इतिहास, दर्शन, पुरातत्व, सम्पदा र सामाजिक विकासका समग्र पक्षबारे हरेक दिन सातवटा गरी २१ वटा सत्रहरू सञ्चालन हुनेछन् । महोत्सवका तीनै दिन गजलसन्ध्या, काव्यसन्ध्या, सङ्गीतसन्ध्या सञ्चालन गरिने पनि आयोजकले जनाएका छन् ।

महोत्सवका अवसरमा भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान गर्ने विशिष्ट साधकहरूलाई सम्मान, पुरस्कार र अभिनन्दन गरिने आयोजकले जनाएको छ ।

समाजले वार्षिक रूपमा एक लाख रूपैयाँ राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, ५० हजार राशकिो टीकापुर साहित्य समाज श्रेष्ठ कृति पुररस्कार, ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार (सुदूरपश्चिमका प्रतिभालाई) र २५ हजार राशिको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार (टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई) प्रदान गर्नेछ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update