टीकापुर, चैत्र २६
कैलालीको टीकापुरमा शनिवारदेखि शुरु भएको टीकापुर साहित्य महोत्सवमा साहित्यकारहरुको जमघट छ । साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आयोजना गरिएको साहित्य महोत्सवका विभिन्न सत्रहरुमाथि बहस गर्न साहित्यकारहरु टीकापुरमा जमघट भएका हुन् ।
दोश्रो दिनको पहिलो सत्रमा मेरो देशको प्रधानमन्त्री कस्तो हुनुपर्छ भन्ने विषयमाथि स्थानीय विद्यार्थीहरुले बहस गरेका थिए । नेपालकै योजनाबद्ध शहरका रुपमा विकास भएको टीकापुरबारे चर्चा परिचर्चा गर्न त्यो टीकापुर, यो टीकापुर र भोलिको टीकापुर विषयमाथि इञ्जिनियर थम्बराज श्रेष्ठ, शिक्षाविद् धनञ्जय तिमिल्सेना र बलबहादुर रावलले बहस गरेका थिए ।
आख्यानमा स्थानीयताः रहर, बाध्यता वा जिम्मेवारी विषयमाथि कथाकार सनत रेग्मी, श्याम शाह, विना थिङ तामाङ्गले शेखर दहितसँग बहस गरेका थिए । त्यस्तै गैह्र आख्यानको पदचाप चुस्त कि सुस्त विषयमाथि साहित्यकार डा.गीता त्रिपाठी, डाक्टर रजनी ढकाल, कुमारी लामा र सुजित मैनालीले बहस गरेका थिए ।
महोत्सवको मुख्य विषयका रुपमा रहेको राजनीतिले सामाजिक सद्भाव जोड्छ कि तोड्छ विषयमाथि पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री डाक्टर भीम रावलले बहस गरेका थिए । डाक्टर भट्टराईले राजनीतिले सामाजिक सद्भाव जोड्नुपर्नेमा जोड दिए । त्यस्तै डाक्टर रावलले राजनीतिले समाजलाई निर्देशित गर्नुेमा त्यसो नहँुदा निराशा छाएको बताए ।
कार्यक्रमका अवसरमा हालै मात्र प्रकाशित विवेक ओझाको कृति ऐंठनमाथि सर्जक ओझा र साहित्यकार नयनराज पाण्डेले चर्चा गरेका थिए । नेपाली समाजमा पठन संस्कृति हराउँदै गएको विषयमाथि सुजित मैनाली, शेखर खरेल र विश्वास खड्काथोकीले बहस गरेका थिए ।




