Hamro Patra
जीप दुर्घटना हुँदा एकैगाउँका ६ जनाको मृत्यु

बैतडी, चैत्र २९

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका-८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका-५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीको भनाइ छ । उनीहरू सबै एकै गाउँका हुन्।

जीप सवार पाँचजना सकुशल छन्। जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ चालक सम्पर्कविहीन छन्।​

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update