Hamro Patra
कञ्चनपुरका विद्यार्थी आन्दोलित

टीकापुर, वैशाख २

जानकारीबिनै त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र अन्यत्र तोकेको भन्दै कञ्चनपुरको कञ्चन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् ।

कृष्णपुर नगरपालिका वडा नं. ५ को गुलरियास्थित उक्त क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका हुन् । बिए, बिएड र बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयले आफ्नो निणर्य सच्याउनु पर्ने माग राखेका छन् ।

शनिबार स्वतन्त्र विद्यार्थी युनियन संगठनले प्रेस विज्ञप्ति निकाल्दै परीक्षा केन्द्र कञ्चन बहुमुखी क्याम्पसमा हुनुपर्ने नभए परीक्षा बहिष्कार गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

यस्तै, नेविसंघले सोही माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । शनिबार उनीहरूले पूर्व-पश्चिम राजमार्ग केहीबेर बन्द गरेका थिए।एक्कासी परीक्षा केन्द्र धनगढी, महेन्द्रनगरलगायत फरक-फरक ठाउँमा तोक्दा समस्या हुने हुँदा त्रिविको यो निणर्यविरूद्ध आन्दोलन गरिरहेको स्वतन्त्र विद्यार्थी युनियनका सभापति देवबहादुर साउँदले बताए ।

यस्तो अन्यत्र परीक्षा दिन यातायातको समस्या, बस्नेको समस्या हुने हुँदा आफ्नो क्याम्पसमै परीक्षा तोक्नुपर्ने विद्यार्थी ललिता पाण्डेले बताइन् ।

कञ्चन बहुमुखी क्याम्पसमा २०६२ सालमा स्थापना भएको हो । स्थापना भएयता २०७२ सालदेखि परीक्षा सोही क्याम्पसमा हुँदै आएको थियो । यसपटक भने त्रिविले परीक्षा केन्द्र धनगढी र झलारी तोकेपछि विद्यार्थीले विरोध गरेको स्ववियु सभापति साउदले बताए । उनीहरूको परीक्षा वैशाख ४ गते दिउँसो १२ बजेदेखि सुरू हुँदैछ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update