Hamro Patra
कोरोना बढेपछि नाकामै बुस्टर डोज लगाइँदै

टीकापुर, वैशाख ३

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दोक्रममा देखिएपछि नाकामै कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन थालिएको छ । गौरीफन्टा नाकामा स्वास्थ्यकर्मीले बुस्टर डोज लगाउन थालेका हुन् ।

अहिले भारतबाट फर्किरहेकाहरूमा सङ्क्रमण बढी देखा परेकाले नाकामै बुस्टर डोज खोप लगाउने कार्यलाई प्राथमिकता दिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

‘अहिले हाम्रो ध्यान बुस्टर डोज लगाउनमा छ’ उनले भने । धामीका अनुसार भारतबाट फर्किरहेका सहित अन्य सर्वसाधारणलाई प्रथम र दोस्रो बुस्टर डोज दिइँदै छ । फाइजर र बाइभ्यालेन्ट खोप लगाइरहेको प्रमुख धामीले बताए ।

यसैगरी, नाका र सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको काम पनि भइरहेको उनले बताए । नाकामा एन्टिजेन विधिबाट र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने काम भइरहेको जनाइएको छ । ‘अहिले दुई ठाउँबाट मात्रै कोरोना परीक्षण भइरहेको छ’ धामीले भने ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update