टीकापुर, बैशाख ४
कैलालीमा पछिल्लो तीन महिनाको अवधिमा लागूऔषध मुद्दामा १ शय ७१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चालु आर्थिक वर्षको माघ, फागुन र चैत्र महिनामा लागूऔषध सम्बन्धी मुद्दामा १ शय ७१ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले गएको माघ, फागुन र चैत्र महिनामा उनीहरु पक्राउ परेको बताए । उनका अनुसार लागूऔषधका १ शय १० मुद्दा परेका थिए । जसमा २१ जना महिला र १ शय ५० पुरुष रहेका छन् ।
डिएसपी चन्दले पक्राउ परेकाहरूबाट खैरो हेरोइन ३ शय १४ ग्राम ३७० मिलिग्राम, नाइट्राभेट ५९ ट्याब्लेट, चरेस २६ किलो ४७ ग्राम ९ शय २० मिलिग्राम, स्पास्मो १२१ क्याप्सुल र ब्रुनफ्रिन ७ ट्याब्लेट बरामद गरिएको बताए ।
सोही अवधिमा भन्सार छलेर चोरी निकासी पैठारीमा संलग्न २७ सवारी साधन र २० जना मानिस पक्राउ परेका छन् । उनीहरुबाट ८१ लाख १३ हजार ४६ रुपैयाँ राजश्व संकलन गरिएको छ । यसैगरी सवारी साधन नियम विपरित चलाई ट्राफिक नियम उलंघन गर्ने सवारी धनीबाट ७१ लाख ७२ हजार ५ शय जरिवाना गरिएको डिएसपी चन्दको भनाई छ ।
कैलाली अदालतबाट विभिन्न मुद्दामा फैसला भइ फरार रहेका ५६ जनालाई समेत पक्राउ परेका र पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कैलालीमा बुझाएको समेत बताइएको छ ।




