टीकापुर, बैशाख ४
कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष लौटन चौधरीले आइतवार साँझ आफ्नो फेसबुकमा एउटा स्टाटस लेखे । ‘काम गर्न २५ दिन मात्र बाँकी हुँदासम्म वडामा स्टिमेट नै आएन । पूर्वाधारका अधिकांश काम कारवाहीमा अवरोध आइरहेको अवस्था । नगरभित्र पूर्वाधारका ३० प्रतिशत मात्रै काम हुने लक्षण देखिन्छ, कहाँनिर कमी, कमजोरी भयो होला .....?’

नगरपालिकाले चालु आर्थिक वर्षका सबै योजना बैशाख मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ । काम सम्पन्न गर्नुपर्ने समय २५ दिन मात्रै बाँकी रहँदा समेत नगरपालिकाका प्राविधिकले स्टिमेट नै नदिएपछि आक्रोशित बनेका अध्यक्ष चौधरीले फेसबुकको साहारा लिए ।
नगरपालिकाको २०७९ माघ २१ गते बसेको १२ औं नगर सभाबाट स्वीकृत भएका योजनाहरुको स्टिमेट वडा कार्यालयले नपाएपछि उनले स्टाटस नै लेख्न बाध्य भएको बताए ।
‘माघमै सम्पन्न १२ औं नगरसभाबाट स्वीकृत भएका कार्यक्रमहरुको स्टिमेट नै अहिलेसम्म नपाएपछि लेख्न बाध्य भएको हुँ’ हाम्रोपत्रसँग कुरा गर्दै अध्यक्ष चौधरीले भने ‘स्टाटस लेखेपछि आज नगरपालिकाका दुई जना प्राविधिकहरु विहानैदेखि फिल्डमा खटेका छन् ।’
अध्यक्ष चौधरीका अनुसार १२ औं नगरसभाले वडा नं. ९ मा पाँच वटा योजनामा बजेट विनियोजन गरेको छ । सेतीमैयाँ मा.वि.को गेट निर्माण, बौनियाँदेखि वडा नं. ८ जोड्ने सडक कालोपत्रे, सानो झुंगामा ढल निकास, पानी सिँचाइको डुण निर्माण र वडा कार्यालयमा पार्किङ्गका लागि टहरा निर्माण गर्ने योजनामा बजेट स्वीकृत छ ।
प्राविधिकको अहसयोगका कारण हालसम्म सेतीमैयाँको गेट निर्माणबाहेक अन्य योजनाको स्टिमेट नै नपाएको अध्यक्ष चौधरीले बताए । ‘१० लाखको कालोपत्रे, १० लाखको ढल निकास, ढाई लाखको डुण निर्माण र ढाई लाखको पार्किङ्ग टहरा बनाउनु पर्नेछ’ अध्यक्ष चौधरीले भने ‘बैशाख ३० आउन २५ दिन मात्रै बाँकी छ, अब कहिले टेण्डर गर्ने, कहिले पिच गर्ने, कहिले नाला बन्ने ? प्राविधिकको असहयोगका कारण बजेट फ्रिज हुने अवस्था आयो ।’
दश लाख भन्दा माथिका योजनाका लागि टेण्डर गर्नुपर्ने नगरपालिकाको नियम छ । हालसम्म स्टिमेट नै नआउँदा तोकिएको समयमा काम नसकिने चिन्ता अध्यक्ष चौधरीले गरे । ‘मैले पटक-पटक वडाका प्राविधिकलाई भनेको छु, सुन्दै सुन्दैनन्’ अध्यक्ष चौधरीले भने ‘केन्द्रबाट वडाको जिम्मा पाएका इञ्जिनियरलाई भन्दा उहाँले मैले बनाउने हो र स्टिमेड भन्दै उल्टै थर्काउनु भयो ।’
वडामा ओभरसियर गोविन्द चौधरीलाई प्राविधिक खटाइएको छ । चौधरी हाल विदामा छन् । नगरपालिका केन्द्रले वडा नं. १, २, ३ मा इञ्जिनियर राजेन्द्र रावल, वडा नं. ४, ५ र ६ मा इञ्जिनियर नवीन ओझा र वडा नं. ७, ८ र ९ मा इञ्जिनियर नवराज जोशीलाई जिम्मेवारी तोकेको छ ।
वडा नं. ९ को जिम्मेवारी पाएका जोशीले वडाले इस्टिमेट नपाएको बारे आफूलाई जानकारी नभएको बताए । ‘निणर्य भएका योजनामा वडाका प्राविधिकले स्टिमेट बनाउँछन्, हामीले चेकजाँच मात्रै गर्ने हो’ जोशीले हाम्रोपत्रसँग भने ‘कालोपत्रेका लागि ठेक्का नै गर्नुपर्ने हुन्छ, हामी इबिडिङ गरेर ठेक्का निकाल्दैछौं, स्टिमेट नपाएको मलाई थाहा छैन ।’
इञ्जिनियर जोशीले २५ दिनभित्र टेण्डर गरेर कालोपत्रे निर्माण गर्न सकिन्छ ? भन्ने प्रश्नमा ढिलो गरी योजनाको निणर्य हुँदा समयमा सम्पन्न गर्न समस्या भएको बताए । जोशीले वडाको प्राविधिक विदामा गएपछि स्टिमेट लगायतका काम गर्न केन्द्रबाट प्राविधिक खटाइएको बताए ।




