टीकापुर, बैशाख ५
नयाँ शैक्षिक सत्र शुरु भएसँगै पाठ्यपुस्तकमा छुट नपाएको अभिभावकहरुले गुनासो गरेका छन् । टीकापुरका पुस्तक व्यवसायीहरुले नयाँ पाठ्य पुस्तकहरुमा छुट नदिएको अभिभावकले गुनासो गरेका हुन् । अघिल्ला वर्षहरुमा १० देखि १५ प्रतिशतसम्म छुट पाउँदै आएका अभिभावकहरुले यस वर्ष कुनै छुट नपाएको गुनासो गरेका हुन् ।
टीकापुर नगरपालिका वडा नं. १ का प्रकाशमान ठकुल्लाले पुस्तक पसलहरुले नयाँ पाठ्यपुस्तकमा अघिल्ला वर्षहरुमा छुट पाएको भए पनि यस वर्ष कुनै छुट नपाएको गुनासो गरे ।
‘गत वर्षहरुमा हामीले पुस्तक पसलबाट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने गरेका थियौं’ उनले भने ‘यस वर्ष कुनै पनि छुट पाएनौं, लेखिएको मुल्य नै तिर्नुपर्ने बाध्यता भयो ।’
पाठ्यपुस्तकमा उल्लेख गरिएको अधिकतम् मुल्य नै तिर्नुपर्दा स्थानीय अभिभावकहरुले गुनासो गरेका हुन् । टीकापुरकै खेम रिमालले पुस्तक पसलले छुट नमिल्ने भन्दै नदिएको गुनासो गरे । ‘खै यो पटक चाहिँ हामीलाई छुट दिन सकिँदैन भन्छन्’ रिमालले भने ‘तोकिएकै मुल्य तिर्नुपर्यो ।’
पुस्तकमा प्रकाशकले अधिकतम् मुल्य तोकेका हुन्छन् । बिक्रेताले खरिद गर्दा निश्चित प्रतिशत मार्जिन पाउँछन् । कागजको मुल्य वृद्धि, पाठ्यपुस्तकको न्यून प्रकाशन हुनु तथा सरकारले तोकिएकै मुल्यमा पाठ्यपुस्तक बिक्री गर्न गरेको निर्देशनले छुट दिन नसकिएको पुस्तक व्यवसायीहरु बताउँछन् ।
‘अघिल्ला वर्षहरुमा २०/२५ प्रतिशतसम्म छुटमा हामीले पाठ्यपुस्तकहरु पाउने गरेका थियौं’ व्यवसायी वीरेन्द्र रावलले भने ‘यस वर्ष अधिकतम् १५ प्रतिशत मात्रै मार्जिन पाएका छौं, यसबाट छुट दिन सकिने अवस्था छैन ।’
पाठ्यपुस्तकमा लाग्ने कागजको मुल्य बढ्दा समेत सरकारले पाठ्यपुस्तकको मूल्यमा नियन्त्रण गरेपछि छुट दिन नसकिएको टीकापुरका अर्का व्यवसायी गुमानसिंह हिमालले बताए ।
‘गत वर्षहरु भन्दा दोब्बरले कागजको मुल्य बढेको छ, पुस्तकको मूल्य बढाउन सरकारले नियन्त्रण गर्यो’ हिमालले भने ‘जसको मार अभिभावकलाई त छ नै हामी व्यवसायीलाई पनि छ, हाम्रो मार्जिन निकै घट्यो, छुट दिन अवस्था नै छैन ।’ उनले अधिकांश पब्लिकेशनहरु कागज महंगो भएका कारण बन्द हुने अवस्थामा पुगेको बताए ।
उपभोक्ता संरक्षण हित मञ्च टीकापुरका अध्यक्ष एकेन्द्र तिमिल्सेनाले सरकारी संयन्त्रले प्रभावकारी अनुगमन गर्न नसक्दा अभिभावकहरु निरीह बन्नु परेको बताए ।
‘पुस्तकहरुमा अधिकतम् मुल्य तोकिएका हुन्छ, यसको मतलब छुट दिन सकिने हो’ अध्यक्ष तिमिल्सेनाले भने ‘व्यवसायीले कतिमा खरिद गर्यो, कतिमा बिक्री गरिरहेको भनेर अनुगमन गर्ने निकाय प्रभावकारी नहुँदा छुट नदिएका हुन् ।’
अध्यक्ष तिमिल्सेनाले निश्चित प्रकाशकले निश्चित विद्यालयहरुमा सेटिङ्गमा पाठ्यपुस्तक लगाउने र निश्चित व्यवसायीलाई मात्रै बिक्री गर्न दिनाले समेत अभिभावकले छुट नपाएको बताए ।
‘निश्चित प्रकाशकले निश्चित विद्यालयमा निश्चित व्यवसायीलाई मात्रै बिक्री गर्न दिने गरी सेटिङ्ग गरेका हुन्छन्’ तिमिल्सेनाले भने ‘यस्तोमा अभिभावकले मोलमोलाई गरेर खरिद गर्न पाउने अधिकार पूरै वञ्चित हुन्छ । यसका लागि नियामक निकायको सक्रियता आवश्यक छ ।’
विशेषतः निजी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि हरेक वर्ष नयाँ पाठ्यपुस्तक खरिद गर्न बाध्य अभिभावकहरु व्यवसायी र विद्यालयको मनोमानीका कारण ठगिँदै आएका छन् ।




