धनगढी, वैशाख ९
कर्णाली, गेरुवा र मोहना नदीमा डल्फिनको अध्ययन गरिदैंछ। तरङ्ग रेकर्ड गर्ने पेसिब मेसिन प्रयोग गरेर स्वच्छ जलीय जीव डल्फिनको अध्ययन गर्न लागिएको हो ।
त्यसको लागि कर्णाली नदीको चार, गेरुवा नदीको दुई र मोहना नदीको एक ठाउँमा दुई महिनाका लागि मेसिन डुबाइएको डल्फिन संरक्षण केन्द्र, कैलालीका सचिव विजयराज श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार वन तथा भू-संरक्षण विभागको सहयोगमा विश्व वन्यजन्तु कोष तराई भू-परिधि नेपाल कोहलपुरले स्थानीय डल्फिन संरक्षण केन्द्रको सहकार्यमा नदीहरुमा मेसिन राखेको हो । मेसिन इङ्ग्ल्याण्डका वैज्ञानिक निकले उपलब्ध गराएका हुन् ।
विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनले पानीमा तरङ्ग छोड्ने गर्दछन् । डल्फिनले पानीभित्र आवाजको तरङ्गमार्फत आफ्नो मार्ग सुनिश्चित गर्ने, आहारा प्रजातिको पहिचान, खतराको पूर्व आँकलन, समूहको साथ साथ रहने र सम्भावित अप्ठ्याराको बारेमा जानकारी लिने गर्दछन् ।
डल्फिनले आफ्नो निधारबाट छोडेको आवाज र तरङ्गलाई पेसिब मेसिनले मेमोरी कार्डमा रेकर्ड गर्ने गरेको जनाइएको छ । पानीमा डुबाएपछि पेसिव मेसिनले डल्फिनको तरङ्ग ग्रहण गर्ने गर्दछ । मान्छेले सुन्न छोडेको स्थानबाट पेसिब मेसिनले सुन्न सुरु गर्ने गरेको श्रेष्ठले बताए ।
‘यसको प्रयोगबाट डल्फिन कहाँ, कति दूरीमा, कस्ता छन् भन्ने कुराको तरङमार्फत जानकारी लिन सकिन्छ’ उनले भने । केही दिनपछि मेसिनको मेमोरी फेर्ने जनाइएको छ । नौ वटा मेसिन राख्नु पर्ने कार्यक्रम रहे पनि तत्काल सात वटा मेसिन राखिएको र दुई वटा राख्न बाँकी रहेको डल्फिन संरक्षणकर्मी एवम् डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए ।
उनका अनुसार कर्णाली नदीमा चिसापानीस्थित पितमारी, अरुणफाँटा, टीकापुर नगरपालिका-८ श्रीलङ्का, सत्ती पुल क्षेत्रमा पेसिब मेसिन राखिएको छ । यस्तै, राजापुर नगरपालिका-३ तिघ्रा र कोठियाघाटस्थित गेरुवा नदीमा मेसिन डुबाइएको छ । मोहना नदीको खक्रौला भन्सार पुल क्षेत्रमा पनि मेसिन राखिएको छ ।
बाँकी दुई वटा मेसिन बर्दिया राष्ट्रिय निकुञ्जबाट अनुमतिपछि मात्रै निकुञ्ज क्षेत्रमा राखिने ढुङ्गानाले बताए । त्यस्तै, कैलालीको मोहना लगायत अन्य नदीमा वर्षायाममा मेसिन राखिनेछ । यो मेसिनको प्रयोगले कहाँ-कहाँसम्म डल्फिन पाइन्छन् भन्ने कुराको पनि जानकारी प्राप्त हुने उनले बताए ।
गोरखापत्रबाट




