Hamro Patra
प्रहरी नै लागुऔषध तस्करीमाः ९ जना पक्राउ

टीकापुर, बैशाख १२

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट लागु औषधसहित ९ जना प्रहरी फन्दामा परेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मनहराबाट लागुऔषधसहित चन्दु महता र गोदावरी वडा नं. ५ गेटाका मदन चन्दसहित चार जना पक्राउ परेका छन् ।

महताबाट ८० मिलिग्राम र चन्दसहितका चार जनाबाट थप ६० मिलिग्राम लागुऔषध फेला परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै गोदावरी नगरपालिका वडा नं. २ बसपार्कबाट करिब २ शय १० मिलिग्राम लागुऔषधसहित सोही स्थानका ३० वर्षीय राजेश पाललाई पनि प्रहरीले सोमबार राति पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उता कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. २ क्याम्प बजारबाट करिब ४ ग्राम ८० मिलिग्राम लागुऔषधसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका वडा नं. १ लक्ष्मीटोलका २३ वर्षीय पदम भट्ट र भीमदत्त नगरपालिका वडा नं. ४ भगतपुरका ३३ वर्षीय सुरेन्द्र थापा रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००३ प ६१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै भीमदत्त नगरपालिका वडा नं. ७ हल्दुखालका २८ वर्षीय हरिश भट्ट पनि लागुऔषधसहित पक्राउ परेका छन् । करिब ५६ मिलिग्राम लागुऔषधसहित भट्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update