Hamro Patra
मिटर ब्याज सम्बन्धी उजुरी दिन प्रशासनको आग्रह

टीकापुर, बैशाख १६

जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज सम्बन्धी उजुरी दिन शुक्रबार आव्हन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरूलाई निवेदन दिन आग्रह गरिएको प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।

भएसम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निःशुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ ।

वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरूलाई निवेदन दिन आग्रह गरिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update