टीकापुर, असार २२
कैलालीको सीमावर्ती कैलारीबाट ठूलो मात्रामा विस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले गएराति कैलारी गाउँपालिका वडा नं. ३, खोम्पुर घाटबाट २९ किलो ५० ग्राम विस्फोटक पदार्थ गन्धक (बारुद बनाउन प्रयोग हुने पदार्थ) बरामद गरेको हो ।
भारतको लखिमपुर चन्दनचौकीका ४२ वर्षीय शिवा गुप्ताले साइकलमा उक्त विष्फोटक पदार्थ ल्याइरहेको अवस्थामा बरामद गरिएको हो ।
.jpeg)
विशेष प्रस्तावित सीमा सुरक्षा गुल्म खोम्पुरका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश खड्का नेतृत्वको टोलीले उक्त विष्फोटक पदार्थसहित गुप्तालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल ३४ नम्बर गणका सूचना अधिकारी डीएसपी धिरेन्द्र शाहले जानकारी दिए ।
शाहका अनुसार पक्राउ परेका गुप्तालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।
गुप्ताले उक्त विष्फोटक पदार्थ कुन प्रयोजनका लागि ल्याएका हुन भन्ने खुलेको छैन । खुल्ला सीमा क्षेत्र रहेको कैलालीको दक्षिणी भारतीय क्षेत्रमा आपराधिक गतिविधि हुन थालेपछि सशस्त्र प्रहरीले निगरानी बढाई रहेको छ ।




