Hamro Patra
दिगो विकास नेतृत्व तालिम सम्पन्न

टीकापुर, जेठ ३१

कैलालीको टीकापुरस्थित टीकापुर जेसिजको आयोजनामा आज दिगो विकास नेतृत्व तालिम सम्पन्न भएको छ । युनाइटेड पिपल ग्लोबल संस्थाको सहयोगमा जेसिजले जेसिजका सदस्यहरु तथा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई दिगो विकास नेतृत्व तालिम प्रदान गरेको हो ।

तालिममा संयुक्त राष्ट संघले तय गरेका दिगो विकासका १७ वटा लक्ष्य, यसको प्रभाव, समुदायले निर्वाह गर्नुपर्ने भूमिका तथा नेतृत्व विकासलाई दिगो विकास लक्ष्यसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको टीकापुर जेसिजका अध्यक्ष रुपकबहादुर विष्टले जानकारी दिए ।

तालिममा युनाइटेड पिपल ग्लोबल संस्थासँग आवद्ध रहेर तालिम लिइरहेका सहरी विकास विज्ञ आयुषजंग थापा मुख्य प्रशिक्षक रहेका थिए । थापाले सामाजिक संघसंस्थामा आवद्ध भइरहेका युवा तथा विद्यार्थीहरुले दिगो विकास लक्ष्यमा ध्यान दिएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

तालिममा विश्वमा भइरहेका नवीनतम् प्रविधिको विकास, सामाजिक सञ्जालको प्रयोग, नेतृत्व तथा क्षमता विकासबारे थापाले चर्चा गरेका थिए । तालिममा पब्लिक रिलेसनबारे पत्रकार परमानन्द पाण्डेले सहजीकरण गरेका थिए ।

टीकापुर जेसिजका अध्यक्ष विष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमख अतिथि थापा रहेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव भरत भण्डारीले गरेका थिए । तालिममा टीकापुरस्थित युनाइटेड एकाडेमी र सप्तऋषि माध्यमिक विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update