Hamro Patra
टीकापुरका पाँच जना केरा किसान सम्मानित

टीकापुर, माघ ३० 
कैलालीको धनगढीमा कृषि विकास निर्देशनालय डोटीले आयोजना गरेको प्रथम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१ मा टीकापुरका पाँच जना केरा किसान सम्मानित भएका छन् । 

कार्यक्रमको समापन समारोहमा केराखेती गर्दै आएका बनाना किङ्गका नामले परिचित टीकापुर नगरपालिका वडा नं. १ का कालु हमाल, वडा नम्बर १ का विनोदकुमार साह र दीपेन्द्र थारुलाई केराखेती विधातर्फ दीर्घ सेवा कदर पत्रसहित सम्मान गरिएको हो ।

चितवनको रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातक अध्ययन गरेर २०४० सालदेखि टीकापुर क्षेत्रमा केराखेतीको विकास र विस्तारमा सक्रिय रहँदै आएका हमाललाई दीर्घ सेवा कदर पत्रसहित सम्मानित भएका हुन ।

केरा कृषक साह विगत दुई दशकदेखि टीकापुरमा केरा खेती गर्दै आइरहेका छन् । हमाल र साह राष्टपति कृषक पुरस्कारबाट समेत सम्मानित किसान हुन् । त्यस्तै केरा कृषक थारु दश वर्षदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आइरहेका छन् ।  

त्यस्तै नेपालमै पहिलो पटक टिस्युकल्चर प्रविधिबाट उत्पादन भएका केराको नर्सरी सञ्चालनमा ल्याएका टीकापुर नगरपालिका वडा नम्बर ४ का युवा कृषक टेकेन्द्र धामीलाई केरा नर्सरी विधामा दीर्घ सेवा कदर पत्रसहित सम्मान गरिएको हो ।

उनले २०६८ सालदेखि केराखेती सहित नर्सरी सञ्चालन गर्दै आइरहेका छन् । धामीको नर्सरीमा उत्पादित केराका बिरुवाहरु धनगढी, महेन्द्रनगर, सुर्खेत, दाङ्ग, बर्दिया, बाँके लगायत जिल्लाका किसानहरुले खेती गर्दै आइरहेका छन् । 

त्यस्तै टीकापुरकै केरा कृषक आकाश कुँवरलाई केराखेतीको विस्तारमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । कुँवरले जोशीपुर क्षेत्रमा केराखेती गर्दै आइरहेका छन् ।   

पाँचै जना किसानहरुलाई प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, प्रदेश सचिव यज्ञराज जोशी र कृषि विकास निर्देशनालय डोटीका महानिर्देशक खगेन्द्रप्रसाद शर्माले कदर पत्र प्रदान गरेका हुन् । 

'सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि समग्र कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण, विविधिकरण र औद्योगीकीकरण' भन्ने मुल नाराका साथ माघ २६ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कउषि तथा सहकारी मन्त्रालयले प्रदर्शनी आयोजना गरेको हो । 

प्रदर्शनीमा सुदूरपश्चिममा व्यावसायिक रुपमा उत्पादित कृषि उपजहरु, कृषि प्रचार सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भएका थिए ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update