
टीकापुर, फागुन २२
टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले आफूमाथि घेराबन्दी गरेको बताएका छन । आज पत्रकार सम्मेलन गर्दै मेयर थारुले टीकापुरको विकास नचाहने तत्वले घेराबन्दी गरेको आरोप लगाए ।
उनले यस्तो विकास विरोधी तत्व विगतदेखी नै सकृय रहेको बताए । ‘टीकापुरको विकासको वाधक नै यही तत्व हो । यही कारण टीकापुर पछि परेको हो’ उनले भने–‘सबै हैन केही सिमित व्यक्तिहरु यसमा संलग्न छन ।’
उनले आफू अनुकुललाई राखेर राजनीतिक दलले गोप्य मिटिङ मार्फत पूर्वाग्रह साँधेको बताए । उनले गुटबन्दी सिर्जना गरेर जात, भेग, लिङ्गका आधारमा विभाजन गर्न खोजेको आरोप लगाए । ‘चाहे जोसुकै पार्टीबाट आए पनि विकासका काम गर्न आएको हो’ उनले प्रश्न गरे–‘यस्तो गुटबन्दीले कसरी विकास हुन्छ ?’
उनले अनगुमन समितिको संयोजक दीपक निसानीले असहयोग गरेका कारण वाध्य भएर अर्को संयोजक बनाउनु परेको बताए । उनले संयोजक निसानीले पटकपटक भन्दा पनि विमानस्थलमा भएको कामको अनुगमन नगरेर असहयोग गरेको बताए ।
उनका अनुसार अनुगमन नभएका कारण विमानस्थलमा भएको कामको समयमा भुक्तानी गर्न नसक्दा कठिनाई भोग्नु पर्यो । ‘पटकपटक भन्दा पनि काम गरेन । विकासका काममा वाधा गरियो’ उनले भने–‘कामै नगर्ने हो भने समितिमा राख्न उचित ठानिएन ।’
उनले टीकापुरमा जहाज सञ्चालन गर्ने कुरा आफ्नो व्यक्तिगत काम नभई टीकापुरको विकाससँग जोडिएको विषय भएको बताए । उनले अनुगमन समितिको संयोजक फेर्ने कुरा कार्यपालिकाको बैठकमा एजेण्डाका रुपमा आएर छलफल भएको दावी गरे ।
सञ्चारकर्मीले अब बनाउन खोजेको संयोजक समेत तपाईको विपक्षमा रहेको छन नि भन्ने जिज्ञासामा उनले कुनै अर्को व्यक्ति संयोजकका रुपमा आउने बताए ।
अनुगमन समितिको संयोजक रहेका उपमेयर खडकबहादुर शाह निलम्बनमा परेपछि कार्यपालिका सदस्य निसानीलाई संयोजकको जिम्मेवारी दिईएको थियो । संयोजक तोकिएका निसानी मेयर थारुकै पार्टीबाट कार्यपालिका सदस्य भएका व्यक्ति हुन ।
उनले मंगलदीप प्रतिष्ठानका नाममा विनियोजित बजेट रकमान्तर गरिएको विषयमा समेत स्पष्ट पारेका छन । उनले संस्थाका नाममा जग्गा नभएका कारण रकम भुक्तानी गर्न समस्या भएको बताए । ‘जग्गाको सुनिश्चितता नभएर बजेट छुट्याई राख्न उचित नभएको हो’ उनले भने–‘गतवर्ष समेत यस्तै भएको थियो ।’
उनले कार्यान्वयन नहुने बजेट संशोधन गर्ने अधिकार नगर प्रमुखसँग रहेको बताउँदै वडाध्यक्षलाई समेत वडामा रहेको बजेट संशोधन गर्ने अधिकार रहेको बताए ।
मेयर थारुको कार्यशैलीको विरोधमा उनकै पार्टीका नेताहरु समेत उभिएका छन । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले राजनीतिक दल, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको बैठकमा उपस्थित भएर निर्णयमा हस्ताक्षर समेत गरेका छन ।
मेयर थारुले केन्द्रीय सदस्य विश्वकर्माले अनुशासनहिन काम गरेको बताउँदै त्यस बारेमा पार्टीले स्पष्टिकरण सोध्ने जानकारी दिए ।
उनले आफूले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्दै आएको बताए । उनले सामाजिक सञ्जाल र कोठे बैठकका आधारमा धारणा नबनाई कार्यकक्षमा आउने रचनात्मक सल्लाह सुझावको सदैव स्वागत गर्ने बताए । ‘काम गर्ने शैली नमिलेको हुनसक्छ । आउनुस सल्लाह सुझाव दिनुस’ उनले भने–‘म यहाँको स्वागत गर्न तयार छुँ ।’
मेयर थारुले आफू खुशी काम गरेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले विमति जनाएका छन । त्यसमा विभिन्न राजनीतिक दलको समेत समर्थन रहेको छ ।