Hamro Patra
टीकापुरमा पहिलो पटक दिक्षान्त समारोह

टीकापुर, चैत २७
कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आज पहिलो पटक दिक्षान्त समारोह सम्पन्न भएको छ । 

दिक्षान्त समारोहमा सि.सं. २३७ (ञ) अन्र्तगतका १२४ जना सशस्त्र प्रहरी जवान दिक्षित भएका छन । उनीहरुले विगत ११ महिनादेखी जारी आधारभूत तालिम पूरा गरेका छन । तालिम पूरा गरेसँगै उनीहरु सशस्त्र प्रहरी जवानका रुपमा संगठनले दिएको जिम्मेवारीमा खटिने शिक्षालयका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरिक्षक नरेन्द्र सेनले जानकारी दिएका छन । 

सो अवसरमा तालिममा सर्वोत्कृष्ठ हुने कञ्चनपुरका खुशीराम डगौरालाई पुरस्कृत गरिएको छ । त्यस्तै अन्य तीन जनालाई विभिन्न विधागत तर्फ पुरस्कृत गरिएको छ । विधागत तर्फ पुरस्कृत हुनेमा कवाचतर्फ टेकराज नेपाली, दौडतर्फ नविन शाही र फायरिङतर्फ गोपीलाल चौधरी रहेका छन ।

उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक दीपक अधिकारीले पुरस्कार प्रदान गरेका छन । 

दिक्षान्त समारोहमा बोल्दै प्रहरी नायब महानिरिक्षक अधिकारीले दिक्षित हुने सशस्त्र प्रहरी जवानले अनुशासित र जिम्मेवार भएर कर्तव्य निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सदैव देश र जनतालाई सर्वोपरी मानेर काम गर्नुपर्ने बताए । 

‘व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सदैव देश र जनतालाई शिरमा राख्नु हुनेछ’ उनले भने–‘संगठनको गरिमा जोगाउने जिम्मेवारी काँधमा आएको छ । सोही अनुसार धर्म र कर्म निभाउन निर्देशन दिन्छु ।’

समारोहमा धन्यवाद व्यक्त गर्दै शिक्षालयका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरिक्षक सेनले राष्ट्रको सन्ततीका रुपमा आफूलाई चिनाउने जिम्मेवारी आएको बताए । ‘अब तपाईहरु राष्ट्रको सन्तती हो’ उनले भने–‘तपाईहरुको परिवार संगठनको परिवार हो ।’

उनले पहिलो पटक टीकापुरमा दिक्षान्त समारोह आयोजना गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले आफू प्रहरी उपरिक्षक रहेको बेला शिक्षालयको संस्थापक समादेशकका रुपमा यस्तो तालिम सञ्चालन गर्न खोज्दा सम्भव नभएको सुनाए । 

उनले वरिष्ठ सशस्त्र प्रहरी उपरिक्षक भएर आएपछि मात्र आफ्नो योजना सम्भव हुनसकेकोमा खुशी महशुस भैरहेको बताए । उनले आगामी दिनमा समेत यस्ता तालिमले नियमितता पाउने विश्वास व्यक्त गरेका छन । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update