Hamro Patra
बजेट निर्माणमा जुट्यो सुदुरपश्चिम प्रदेश सरकार

कैलाली, बैशाख १०
आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि सुदुरपश्चिम प्रदेश सरकार जुटेको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगामी नीति तथा कार्यक्रम र बजेट तर्जुमा लगायत विविध विषयमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी र सचिवसँग छलफल गरेका छन् । 

छलफलमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कार्यान्वयनयोग्य नीतिगत सुधार र प्राथमिकता क्षेत्र पहिचान गरी सो को प्रतिवेदन १५ दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न मातहतका मन्त्रालयलाई निर्देशन दिएका छन् । 

दीर्घकालीन महत्वका कार्यक्रमहरू र कार्यान्वयनको अवस्था, आयोजना बैंकको कार्यान्वयनको प्रारम्भ एवं आगामी वर्ष संस्थागत गर्ने विषय, आयोजनाको डिजाइन, डि.पि.आर.मा एकरूपता कायम गर्ने विषय, चालु खर्च कटौती गर्ने र पुँजीगत खर्च बढाउने, प्रदेशको आन्तरिक राजश्व बढाउने, विकासमा सुशासन, नागरिक सहभागिता एवं उपभोक्ता समितिको काम कारवाहीको प्रभावकारिता विषयमा छलफल भएको थियो । 

आगामी वर्षको नीति तथा कार्यक्रमका लागि नागरिक जनजीवनसँग सम्बन्धित प्रभावकारी र नविनतम नीति, कार्यक्रम र आवश्यकतानुसार योजना छनौट गर्न मुख्यमन्त्री शाहले आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update