Hamro Patra
महामन्त्री शाहको स्वास्थ्य अवस्था खतरामुक्त 

धनगढी, बैशाख १४
भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह मनु सहित तीन जनाको अवस्था खतरामुक्त रहेको छ ।

शाहजहाँपुरस्थित सरकारी अस्पतालमा उपचाररत शाहको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । तीनै जनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका हुन् ।

खुटारमा दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनाको खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

शाह चढेको गाडी बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई त्यहाँबाट शाहजहाँपुरस्थित सरकारी अस्पतालमा रेफर गरिएको थियो ।

दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए । शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए ।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, उनकी पत्नी र बहिनीलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको हो । शाहकी छोरी, आमा र ज्वाईको खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट हिडेका परिवारका सदस्य शाहजहाँपुर पुगेका छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update