
टीकापुर, बैशाख १७
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच हुने भनिएको एकता अघि नै नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरी प्रज्ञाभवन कमलादीबाट पक्राउ परेका छन् ।
उनी पार्टी एकता घोषणा सभास्थलबाटै पक्राउ परेका हुन् । प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ । उनी पक्राउ परेपछि कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो । ‘हामीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेका हौं’ बोहराले भने, ‘उहाँलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका हौं ।’
२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । तर आममाफीविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सो रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेका हुन् ।
उनी पक्राउ परेसँगै पार्टी एकता समेत अन्यौलमा परेको बताइन्छ ।