Hamro Patra
बैशाख २३ गते प्रधानमन्त्री केपी शर्मा ओली टीकापुर आउने

टीकापुर, बैशाख २१
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली टीकापुर आउने भएका छन् । बैशाख २३ देखि २४ गतेसम्म हुने भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोश्रो केन्द्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं अध्यक्ष शर्मा ओली टीकापुर आउने भएका हुन् ।

बैशाख २३ गते टीकापुरको भानुचोकमा प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्नेछन् । 

सुकुम्बासी तथा भूमिहीन सम्बन्धी काम गर्दै आएको नेकपा एमालेको जनवर्गीय संगठनको अधिवेशनका क्रममा प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिजाल, पार्टी सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी समेत कार्यक्रममा सहभागी हुने आउनेछन् । 

त्यस्तै मोर्चा विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, संगठनका संस्थापक अध्यक्ष रामप्रित पासवान, भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजाल लगायतका नेताहरु टीकापुर आउनेछन् । 

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा देशभरिबाट संगठनका ६ शय महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । अधिवेशनको तयारीका लागि तीन दिनदेखि संगठनका अध्यक्ष एवं संविधान सदस्य शान्ता चौधरी समेत टीकापुरमा रहेकी छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रमको तयारी तिब्र पारिएको नेकपा एमालेका टीकापुर नगर अध्यक्ष लक्ष्मण थापाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update