Hamro Patra
तीन दाजुभाई अब्बल प्रहरी अफिसर

टीकापुर, बैशाख २२
एउटै कोखबाट जन्मिएका तीनजना दाजुभाई नेपाल प्रहरीको अफिसर भएको घटना बिरलै हुनसक्छ । अछाम जिल्लाको विकट क्षेत्र मानिने रामारोसनमा जन्मिएका तीन दाजुभाई प्रहरी संगठन मातहतका तीन वटा कमाण्ड कुशलतापूर्वक सम्हालिरहेका छन । 

उनीहरु रामारोसन गाउँपालिका वडा नम्बर ४ का देवानन्द न्यौपाने र पारु न्यौपानेका कोखबाट जन्मिएका हुन । न्यौपाने पेशाले शिक्षक हुन । उनी ४४ वर्षको शिक्षण पेशाबाट एक महिना अघि मात्रै अवकाश प्राप्त भएका छन । उनकी श्रीमती गृहणी हुन । 

न्यौपाने दम्पत्तीका जेठो छोरा सिद्धराज न्यौपाने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पिएसओ छन । उनी प्रहरी नायब उपरिक्षक (डिएसपी) हुन । उनी लामो समयदेखी प्रचण्डको सुरक्षा कमाण्डमा कार्यरत छन । 

२०६३ सालमा प्रहरी निरिक्षकबाट संगठनमा भर्ना भएका उनी २०७४ मा प्रहरी नायब उपरिक्षकमा बढुवा भएका थिए । उनी संगठनमा एक कुशल प्रहरी अधिकृतका रुपमा चिनिन्छन । उनले अहिलेसम्म धेरैजसो ठाउँमा इञ्चार्जको भूमिका निर्वाह गरेका छन । उनी चाँडै प्रहरी उपरिक्षकमा बढुवाको लाईनमा रहेको बताईन्छ । 

माइलो छोरा केशर न्यौपाने सल्यान जिल्लाको कमाण्ड सम्हालिरहेका छन । उनी पनि प्रहरी नायब उपरिक्षक हुन । २०७० मा प्रहरी निरिक्षक भएका उनी २०८० मा प्रहरी नायब उपरिक्षकमा बढुवा भएका थिए । 

काठमाण्डौं, हेटौडा लगायतका जिल्लाका विभिन्न प्रहरी यूनिटको कमाण्ड सम्हालेका उनी अहिले सल्यानमा प्रशंसायोग्य काम गरिरहेका छन । उनी जनतासँगको मितव्ययी सम्बन्धका कारण चर्चामा रहन्छन । 

कान्छो छोरा मुकेश न्यौपाने २०७६ मा प्रहरी निरिक्षक भए । उनी हाल रुपन्देही जिल्लाको इलाका प्रहरी कार्यालय बेलैयामा कार्यरत छन । 

न्यौपाने दम्पत्तीका जेठो छोराले कैलालीको टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका हुन । अन्य दुई छोराहरुले भने अछामको रामारोसनस्थित सरस्वती मावि झाँताबाट एसएलसी गरेका थिए । उनीहरु सबैको एसएलसी पछिको उच्च शिक्षा भने काठमाण्डौंमा भयो । 

अछामको विकट मानिने रामारोसन क्षेत्रमा शिक्षण पेशामा कार्यरत देवानन्दको कुनै राजनीतिक सम्बन्ध थिएन । उनले भनसुन गर्ने मान्छे पनि चिनेका थिएनन् । उनी छोराहरुको आफ्नै मेहनतले उचाई हासिल गरेको बताउछन । 
‘मेरो त त्यस्तो कोही थिएन । छोराहरुले मेहनत गरे सफल भए’ उनले भने–‘अहिले सम्झिदा गर्व महशुस भैरहेको छ ।’

न्यौपाने दम्पत्तीका अन्य सन्तान समेत कम छैनन् । साईलो छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर छन भने छोरी कविता चिकित्सक छन । छोरा जागिर गर्छन । छोरी दार्चुला अस्पतालमा कार्यरत छन । 

न्यौपानेको परिवार अछामबाट कैलाली बसाई सरेको छ । उनीहरु कैलालीको जानकी गाउँपालिका बन्देवीपुरमा बसोबास गर्छन । देवानन्दका बुबाआमा पहिल्यैदेखी सो ठाउँमा बसोबास गर्दै आएका थिए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update