Hamro Patra
शान्ता चौधरीले भनिन् ''शैक्षिक संस्थाको नाममा यतिधेरै जग्गा किन ?"

टीकापुर, बैशाख २२

टीकापुरमा आयोजना हुने भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । संगठनले आज टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा तयारी पूरा भएको जानकारी दिईएको छ । 

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा संगठन अध्यक्ष शान्ता चौधरीले महाधिवेशनको एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिईन । उनले प्रधानमन्त्री ओलीकै चाहना अनुसार महाधिवेशन टीकापुरमा आयोजना गरेको बताईन । 

उनले टीकापुरमा भूमिको समस्या धेरै रहेकाले प्रधानमन्त्री ओलीले नै यस्तो चाहना राखेको बताउँदै समस्या समाधानका लागि महाधिवेशन सहयोगी बन्ने विश्वास व्यक्त गरिन । 

उनले सरकारले १० वर्षदेखी लगातार एउटै ठाउँमा बस्दै आएको व्यक्तिलाई सोही जग्गा उपलब्ध गराउने गरी सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि ऐन ल्याउन लागेको जानकारी दिईन । 

उनले टीकापुर बहुमुखी क्याम्पसको जग्गा कब्जा गरेर बसेकाहरुलाई सोही जग्गा दिनुपर्ने बताईन । सुदूरपश्चिम विश्वविद्यालयको डीन क्याम्पस समेत रहेको क्याम्पसको ३ सय विगाह जमिन विगत दुई दशकदेखी कब्जामा रहेको छ । 

उनले मान्छेको बसोबासको ठेगान नभएको बेला संस्थाका नाममा यतिधेरै जमिन राख्न नहुने तर्क गरिन । ‘यहाँ मान्छेलाई बसोबासको ग्यारेन्टी छैन । शैक्षिक संस्था र मन्दिरका नाममा किन यतिधेरै जमिन चाहियो’ उनले भनिन् –‘पहिलो कुरो मान्छेको बसोबासको ग्यारेन्टी हुनुपर्छ ।’

उनले यसरी जमिन वितरण गर्दा भूमिहिन र सुकुम्बासीहरुको वास्तविक पहिचानको खोजी हुन जरुरी रहेको बताईन । उनले वास्तविक भूमिहिन र सुकुम्बासी मात्रै जग्गाको हकदार भएको बताईन ।  

उनले महाधिवेशनमा ६४ जिल्लाका ६ सय बढी प्रतिनिधिहरु सहभागी हुने बर्ताइन । उनले प्रतिनिधिहरु टीकापुर पुग्न सुरु भैसकेको जानकारी दिईन । उनले स्थानीयको सहयोगमा प्रतिनिधिहरुको आवास र भोजनको व्यवस्थापन भैरहेको बताईन । 

‘समृद्ध नेपाल सुखी नेपालीका लागि वैज्ञानिक भूमिसुधार ः गैर संगठित श्रमिक तथा भूस्वामित्वबाट बञ्चितका लागि भूमि अधिकार’ भन्ने नाराका साथ सुरु हुने महाधिवेशन बैशाख २३ र २४ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update