Hamro Patra
सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ बिच भेटवार्ता

टीकापुर, बैशाख २२
साताव्यापी लामो भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बीच भेटवार्ता भएको छ । 

सोमवार मुख्यमन्त्री शाह र योगी आदित्यनाथ बिच लखनऊस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । बैशाख १६ गतेदेखि भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहसहित दश सदस्यीय प्रतिनिधि मण्डलले योगी आदित्यनाथसँग भेटवार्ता गरेको हो । 

सामाजिक सञ्जाल फेसबुकमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेको फोटो सार्वजनिक गरेका छन् । 

‘आज लखनऊस्थित सरकारी निवासमा सुदूरपश्चिम प्रदेश, नेपालका माननीय मुख्यमन्त्री श्री कमलबहादुर शाह जी र उनको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग शिष्टाचार भेटघाट भएको छ’ उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले फोटो शेयर गर्दै लेखेका छन् । 

मुख्यमन्त्री शाहले भ्रमण क्रममा यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र विभिन्न विभागीय मन्त्रीहरुसँग भेटवार्ता गरिसकेका छन् । 

भेटवार्तामा दुबै मुख्यमन्त्रीहरु बिच आपसी हित, विकास निर्माणमा सहकार्य तथा सुदूरपश्चिम प्रदेशको विकास निर्माण भारतीय सहयोगबारे छलफल भएको बताइएको छ । 

सुदूरपश्चिम र उत्तरप्रदेशबीच सीमा क्षेत्रमा हुने गतिविधि तथा भारतको तिकुनियाँबाट सीमावर्ती खक्रौलासम्मको सडक निर्माणका विषयमा छलफल भएको भ्रमण टोलीमा रहेका मुख्यमन्त्री शाहका राजनीतिक सल्लाहकार डाक्टर जितेन्द्र उपाध्यायले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update