
टीकापुर, बैशाख २३
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै टीकापुरमा एमपीको हेल्थी किचेन सञ्चालनमा आएको छ । स्थानीय मोहनप्रसाद जैशीले उपभोक्तालाई स्वस्थ खानेकुरा खुवाउने उद्देश्यले करिब डेढ करोडको लागतमा हेल्थी किचेन सञ्चालन गरेका हुन् ।
उनले हेल्थी किचेनमा पाइने खानेकुरा बजारमा पाइने तेलमा नभई शुद्ध तोरीको तेल र घ्युमा पकाइने गरेको बताए । उनले तारेको खानेकुरा हेल्थी किचेनमा नपाइने जानकारी दिए । ‘हामीले तेलमा तारेको भन्दा ओभनमा पोलेको खानेकुरा उपलब्ध गराउने गरेका छौं’ उनले भने–‘हाम्रो प्राथमिकता नै उपभोक्ताको स्वास्थ्य हो । यसमा कुनै कम्प्रमाइज हुँदैन ।’
हेल्थी किचेनमा कुनै प्याकिङ जुस उपलब्ध छैन । ग्राहकले फलफूलबाट तत्कालै उपलब्ध गराइने फ्रेस जुस पिउन पाउने व्यवस्था छ । जैशीका अनुसार अन्य पेय पदार्थ समेत हेल्थी किचेनले उपलब्ध गराउँदैन । उनले हेल्थी किचेनलाई दुई भागमा विभाजन गरेका छन । भुईतलामा किचेन र पारिवारिक वातावरणमा बस्न मिल्ने व्यवस्था छ भने माथिल्लो तलामा रेस्टुरेन्ट रहेको छ । रेस्टुरेन्टमा समेत धुम्रपान निधेष गरिएको छ । कुनै ग्राहकले धुम्रपान गर्नु परे रेस्टुरेन्ट भन्दा बाहिर व्यवस्था गरिएको छ । ‘पारिवारिक वातावरण दिने कुरामा ध्यान दिएका छौं’ जैशीले भने–‘सकेसम्म होहल्ला नहोस् भन्नेमा हामी सचेत छौं ।’
हेल्थी किचेनको मुल ढोकासँगै किचेन जोडिएको छ । जुन बाहिरबाट सहजै देख्न सकिन्छ । जैशीले उपभोक्ताले किचेनको अवस्था आफ्नै आँखाले देख्न सकुन् भनेर यस्तो गरिएको बताए । ‘अन्यत्र किचेन गोप्य ठाउँमा राखिएको हुन्छ । हामीले किचेन सबैले देख्ने गरी राखेका छौं’ उनले भने–‘कसैले किचेनको भित्रै गएर पनि हेर्न सक्नेछन ।’
उनले उपभोक्ताले आफूले उपभोग गर्ने खानेकुरा कसरी पाकिरहेको छ भन्ने देख्न सकुन् भनेर किचेन पारदर्शी बनाएको बताए । उनले टीकापुर प्रतिको धारणा परिवर्तन गर्न रेस्टुरेन्ट व्यवसायमा यतिधेरै लगानी गरेको जानकारी दिए । टीकापुरमा कुनै सम्भावना छैन भन्नेहरुका लागि जैशीले गरेको लगानीले थोरै भए पनि जवाफ दिएको महशुस गर्न सकिन्छ । हेल्थी किचेन सञ्चालनमा आएको एक साता पनि बितेको छैन । तर यो बिचमा धेरै व्यक्तिको सुुझावले जैशीलाई उत्साहित बनाएको छ ।
जैशीले रेस्टुरेन्ट व्यवशायमा प्रवेश गरेको २५ वर्ष भयो । उनी आफै सेफ समेत हुन । उनले १२ वर्ष कुवेतमा बिताए । जहाँ साथीहरुसँग मिलेर ४ वर्ष आफै चौतारी रेस्टुरेन्ट चलाए । उनी सपरिवार कुवेतमा बस्थे । आम्दानी पनि राम्रै थियो । लामो समयदेखिको विदेश बसाई छोडेर उनी २०७० मा सपरिवार नेपाल फर्किए ।
उनले तारेको खानेकुरा हेल्थी किचेनमा नपाइने जानकारी दिए । ‘हामीले तेलमा तारेको भन्दा ओभनमा पोलेको खानेकुरा उपलब्ध गराउने गरेका छौं’ उनले भने–‘हाम्रो प्राथमिकता नै उपभोक्ताको स्वास्थ्य हो । यसमा कुनै कम्प्रमाइज हुँदैन ।’
उनले त्यतिबेलै टीकापुरमा रेस्टुरेन्ट व्यवशाय सुरु गर्ने सोच बनाएका थिए । २०७२ मा टीकापुर घटना भयो । लगानीको वातावरण बनेन । उनले साथीहरुसँग मिलेर धनगढीमा ग्यालेक्सी रेस्टुरेन्ट सुरु गरे । पछि ग्यालेक्सीको शाखा काठमाण्डौं, बुटवल र टीकापुरमा समेत सञ्चालनमा आए ।
कोभिडले सबैतिर समस्या पार्यो । टीममा समस्या आयो । उनले सरसल्लाहमै ग्यालेक्सी छोडे । कुवेतको बसाई छोडेर स्वदेशमै केही गर्ने सोचका साथ फर्केका जैशी पुनः भारतको दिल्ली पुगे । दुईजना मिलेर दिल्लीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याए । उनी दिल्ली भएपनि मन भने स्वदेशमै थियो । दिल्लीको रेस्टुरेन्ट साथीको जिम्मा छोडेर उनी टीकापुर फर्किए ।
उनलाई टीकापुरमै केही गर्नु थियो । रेस्टुरेन्ट व्यवशायको लामो अनुभव थियो । साथीहरुसँग सरसल्लाह गरे । केही फरक गर्न सके राम्रो हुने सुझाव पाए । उनले फरक भनेको उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर रेस्टुरेन्ट व्यवशाय सुरु गर्नुलाई आफ्नो उद्देश्य बनाए । ‘बजारमा जताततै अस्वस्थ खानेकुरा छ । यो भिडमा स्वस्थ खानेकुरा दिनु नै अरु भन्दा फरक हुनु हो’ उनले भने–‘यही उद्देश्य राखेर अघि बढ्ने सोच बनाए ।’
उनले १३ जना स्थानीयलाई रोजगारी दिएका छन । उनका अनुसार रेस्टुरेन्ट व्यवसायमा सम्भावना र चुनौती दुबै छन । केही व्यक्तिको व्यवहारका कारण रेस्टुरेन्टको माहौल बिग्रन्छ । उनले हरेक लगानीकर्ताको पीडालाई सबैले महशुस गरेर व्यवहार गरिदिन आग्रह गरे । ‘मलाई मात्रै हैन । एकले अर्कोलाई सहयोगको व्यवहार गरौं । कसैले कसैलाई असहयोग नगरौं’ उनले भने–‘सबैसँग यही आग्रह छ ।’
उनले टीकापुरमा अझै रेस्टुरेन्ट कल्चर विकास नभई सकेको बताए । उनी रेस्टुरेन्ट कल्चर विकास गर्नका लागि भएपनि आफूले जमर्को गरेको बताउँछन । उनले केही दिन यता परिवार सहित रेस्टुरेन्टमा आउनेको संख्या बढ्दै गएको बताए । ‘हामी बाहिर जाँदा रेस्टुरेन्टमा खान्छौं तर घरपरिवारसँग कहिल्यै रेस्टुरेन्ट जाँदैनौं’ उनले भने–‘टीकापुरमा घरपरिवारसँगै रेस्टुरेन्ट जाने कल्चर छैन । बिस्तारै यसको विकास हुनुपर्छ ।’
उनले केही दिनभित्रै अर्गानिक खानेकुरा समेत उपलब्ध गराउने जानकारी दिए । उनका अनुसार कोदो, मकै, फापर, जौबाट बनेका खानेकुरा हेल्थी किचेनमा उपलब्ध हुनेछन् । उनले स्थानीय सरकारले बेलाबेलामा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको रेस्टुरेन्ट व्यवसायमा अनुगमन गर्नुपर्ने बताए । राज्य पक्षले अनुगमन गर्दा उपभोक्ताले स्वस्थ खानेकुरा उपभोग गर्न पाउने उनको भनाई छ । उनले राज्य उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गरे ।