Hamro Patra
अवैध रुपैयाँ सहित दुईजना पक्राउ

टीकापुर, बैशाख २३
कैलालीबाट प्रहरीले अवैध रकम सहित दुईजनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले १७ लाख ४६ हजार ९ सय रुपैयाँ बरामद गरेको जानकारी दिएको छ । 

पक्राउ पर्नेमा एकजना भारतीय नागरिक छन ।  प्रहरीका अनुसार भजनी नगरपालिका वडा नम्बर ५ गुलरीयाघाट भन्सार कार्यालय नजिकैबाट भारत उत्तर प्रदेश लखिमपुर खिरी तिकुनियाँका ३२ वर्षका अमन कुमार गर्ग पक्राउ परेका छन । 

प्रहरीले उनको साथबाट ८ लाख ९६ हजार ६६० नेपाली रुपैयाँ बरामद गरेको जानकारी दिएको छ । उनलाई ईलाका प्रहरी कार्यालय पृथ्बीपुर कैलालीबाट खटी गएको प्रहरी टोलीले भारतीय मोटरसाइकल सहित पक्राउ गरेको हो । 

मोटरसाइकल चेकजाच गर्दा निजले सुर्के थैलीमा कम्मरमा बाधेर राखेको स्रोत नखुलेको रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालयमा बुझाएको छ । 

त्यस्तै टीकापुर नगरपालिका वडा नम्बर १ बस्ने बर्ष १९ को अर्मन चौधरी समेत स्रोत नखुलेको अबैध भारतीय रुपैया लुकाई–छिपाई राखेको अवस्थामा पक्राउ परेका छन । 

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीगएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीले चौधरीले संचालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स पसलमा चेकजाँच गर्दा निजको साथबाट भारतीय मुद्रा ५ लाख ३१ हजार ४ सय बरामद गरेको जानकारी दिएको छ । 
निज चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्‍व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update